उत्पादन घट्दा बजारमा जिउँदो कुखुराको अभाव, मागभन्दा आधामात्रै बिक्री गर्दै व्यवसायी

काठमाडौं । चल्ला उत्पादन गर्ने प्यारेन्ट (माउ) कुखुराको आयात समयमै नहुँदा बजारमा जिउँदो कुखुराको अभाव सुरु भएको छ ।

सामान्यतया जाडो सकिएलगतै कुखुरा उत्पादन बढ्ने गरेको थियो । फागुनको पहिलो सातादेखि नयाँ उत्पादन आउने हुँदा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी तीन सय रुपैयाँमा ओर्लने व्यवसायीहरुले अनुमान गरेका थिए । तर लकडाउनको समयमा प्यारेन्ट कुखुरा आयात नहुँदा त्यसको असर अहिले कुखुरा उत्पादनमा परेको राष्ट्रिय कुखुरा बिक्रेता व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

लकडाउनअघि आयात भएको प्यारेन्ट कुखुराको उत्पादन क्षमता घट्दै जाँदा उत्पादनमा कमी आउन थालेको हो । यसैले अहिलेको उत्पादनले बजार माग धान्नै नसकिरहेको व्यवसायीहरुको भनाइ छ ।

जिउँदो कुखुरा माग अनुसार आपूर्ति हुन नसकेपछि अहिले कुखुराको तयारी मासुको मूल्य फेरि बढेर प्रतिकेजी ३ सय ८० रुपैयाँ पुगेको छ । जिउँदो कुखुराको मूल्य पनि किलोको २ सय ७० रुपैयाँ भएको छ । यसअघि प्रतिकेजी मूल्य तयारी मासुको ३ सय ७० रुपैयाँ र जिउँदो कुखुराको २ सय ६० रुपैयाँ थियो । 

कुखुरा उत्पादन नै हुन नसकिरहेकाले कुखुराको मासु किलोको ४ सय ५० रुपैयाँसम्म पुग्ने अनुमान रहेको संघले जनाएको छ । यसअघि लकडाउनको बेला पनि कुखुरा उत्पादन कम हुँदा मासुको मूल्य तराईका जिल्लाहरुमा किलोको साढे चार सय रुपैयाँसम्म पुगेको थियो । ‘अहिले पनि नेपालभर नै कुखुराको उत्पादन न्यून रहेकाले यसको असर देशका सबै बजारमा पर्छ,’ बिसीले भने ।

यद्यपि, कुखुराको आपूर्ति कम र मासुको मूल्य वृद्धिको अवस्था धेरै लामो समय कायम नरहने अनुमान गर्न सकिन्छ । कारण- कोभिड नियन्त्रण हुन थालेपछि बाहिरबाट चल्ला उत्पादन गर्ने प्यारेन्ट कुखुरा आयात हुन थालेको छ । मात्र आयात हुनेबित्तिकै उत्पादन भने हुनेछैन ।

पछिल्लो समय ल्याइएका प्यारेन्टबाट कुखुराको नयाँ ब्याच उत्पादन हुनका लागि ६ महिना लाग्ने बिसीले बताए । यसैले अबको छ महिनासम्म भने बजारमा कुखुराको अण्डा, चल्ला, जिउँदो कुखुरा र यसको मासुको आपूर्ति कम हुँदा यसको असरस्वरुप मूल्य उकालो लाग्ने देखिन्छ ।

उनी भन्छन्, ‘कुखुराको उत्पादनको अवस्था अहिलेकै जस्तो रहिरहने हो भने अबको पाँचदेखि ६ महिनासम्म बजारमा कुखुराजन्य उत्पादनको अभाव  हुनसक्छ।’ 

उत्पादनमा कमीले गर्दा जिउँदो कुखुराको मूल्य हालसम्मकै उच्च भएको छ । यसअघि लकडाउनको बेलाबाहेक बजारमा जिउँदो कुखुराको मूल्य किलोको २ सय ५० रुपैयाँभन्दा माथि गएको थिएन । अहिले जिउँदो कुखुरा २ सय ७० रुपैयाँ पुग्दा मासु पनि सहज रुपमा खरिद गर्न नसकेको व्यवसायीहरु बताउँछन् ।

व्यापार आधा घट्यो 
सामान्य अवस्थामा दैनिक सात हजार कुखुरा बिक्री गर्दै आएको काठमाडौैंको बाफलस्थित बुढाथोकी कोल्ड स्टोरले अहिले दिनमा मुस्किलले साढे तीन हजार हाराहारीको संख्यामा मात्र बेच्न सकेको संचालक तमिब बुढाथोकीले बताए ।

जिउँदो कुखुरा पाउनै मुस्किल भइसकको छ । बजारको मागअनुसार आपूर्ति छैन । ग्राहकले खोजेजति दिन नसकिने अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । मासुको थोक मूल्य नै प्रतिकेजी ३ सय ९० रुपैयाँ पुगेको छ भने उपभोक्तालाई किलोकाे चार सय रुपैयाँभन्दा बढी पर्न थालिसकेको बुढाथोकीको भनाइ छ । किसानहरूले  पहिलेजस्तो उत्पादन गरेका छैनन् भने केहीले कुखुरा फार्म नै संचालन गर्न छोड्न थालेको उनी बताउँछन्। 

पोल्ट्री संघका अनुसार, अहिले साना-ठूला गरेर देशभर करिब १० हजार पोल्ट्री फर्महरु छन् । तर कोभिडयता पोल्ट्री व्यवसायप्रति किसान तथा व्यवसायीहरुको लगाव घट्दै गएको छ । उत्पादन बढी हुँदा लागत मूल्यभन्दा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना हुँदा पनि कतिपयले यो पेशा छोड्दै गएको संघको भनाइ छ ।

हाल तुलनात्मक रुपमा माग कम भएकाले कम परिमाणमा कुखुरा खरिद गर्दा पनि पुगिरहेको राजधानीको शान्तिनगरस्थित हजुरको कोल्ड स्टोरका संचालक मदन शाहीले भने । ‘उत्पादन पर्याप्त छैन । चल्ला र दानाको मूल्य आकासिंदा यसको असर मासुको मूल्यमा परेको छ । मासु महँगिएकाले माग पनि केही घटेको छ,’ उनले भने । 

बजारमा कुखुरा अभाव भएको भन्दै कोल्ड स्टोरहरुले आफुखुसी मासुको मूल्य लिने गरेका छन् । संघले उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ८० रुपैयाँ तोकेपनि बिक्रेताहरुले चार सय रुपैयाँभन्दा बढी लिन थालेका छन् । अझ पसलपिच्छे मासुको मूल्य २० रुपैयाँसम्म फरक पर्ने गरेको छ ।

नेपाल  ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको व्यवसायीहरुले बताउँदै आएका छन् । यद्यपि, कुखुरा पालन व्यवसाय वा अण्डा र चल्ला उत्पादनका लागि आवश्यक पर्ने प्यारेन्ट (माउ) कुखुराका लागि भने आयातमै निर्भर हुनु परेको नेपाल ह्याचरी संघले जनाएको छ । गत ९ महिनादेखि प्यारेन्ट आयात प्रभावित हुँदा त्यसको असर यतिबेला कुखुराजन्य उत्पादनमा परेको व्यवसायीहरुले बताएका छन् । ह्याचरी संघले प्यारेन्ट कुखुरा नआउँदा अण्डा र चल्लाको उत्पादन आधा घटेको जनाएको छ ।

प्यारेन्ट अभावले चल्लाको मूल्य पहिलेभन्दा दोब्बर महङ्गो भएको छ । हाल एउटा चल्लाकै एक सय २० रुपैयाँमाथि पर्न थालेको व्यवसायीहरुको भनाइ छ । दानाको मूल्य पनि बढ्दै गएको छ । जसले गर्दा उत्पादन लागत धेरै माथि उक्लिएको पोल्ट्री संचालकहरु बताउँछन्।

कोभिडअघि साताको ४० लाख चल्ला उत्पादन हुँदै आएको थियो भने हाल १५ लाखभन्दा कम परिमाणमा चल्ला उत्पादन भइरहेको ह्याचरी संघका अध्यक्ष गुण चन्द्र विष्टले बताए ।  ‘उत्पादन नभएरै बजारमा कुखुराको अभाव भएको हो,’ उनले भने, ‘पहिलेको प्यारेन्टले उत्पादन कम दिन थालेपछि चल्लाको उत्पादन अझ घट्ने अनुमान छ ।’

अहिले ल्याएको प्यारेन्टले चल्ला उत्पादन गर्न झन्डै ६ महिना लाग्ने भएकाले बजारमा तत्काल चल्ला अण्डा र मासुको सहज आपूर्ति नहुने उनले बताए ।

बिहेको सिजनमा कुखुरा अभाव हुने 
कुखुराको मासु तुलनात्मक रुपमा सस्तो हुने भएकाले र धेरै भेराइटीमा बनाउन सकिने भएकाले व्यक्तिगत तथा व्यावसायिक उपभोक्ताबीच यसको माग अन्य मासुभन्दा धेरै हुन्छ । सामान्य अवस्थामा देशभर दैनिक १० लाख किलोको हाराहारीमा कुखुराको मासु खपत हुने अनुमान छ । कोभिडपछि भने यो साढे ५ लाख केजीमा झरेको छ । यसमध्ये कुखुराको मासुको सबैभन्दा ठूलो बजार काठमाडौं उपत्यकामा तीन लाख केजी मासु खपत रहेको बताइन्छ। 

वैशाख नजिकिंदैगर्दा व्यवसायीहरु चिन्तित बनेका छन् । बिहेको सिजनमा मासुको खपत धेरै हुने भएकाले हालको जस्तै कुखुरा अभाव कायम रहे व्यापार गर्न गाह्रो हुने उनीहरुको भनाइ छ । बिहेको सिजनमा कुखुराको माग अहिलेको भन्दा दोब्बर हुन्छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.