नेपालमा एक वर्षमा करिब ११ लाख ५० हजार विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक आनुसार सन् २०२४ को डिसेम्बर ३० सम्ममा ११ लाख ४७ हजार २४ पर्यटक नेपाल आएका हुन् ।
मंगलबार अर्थात् सन् २०२४ को अन्तिम दिन करिब ३ हजार पर्यटक आउने अनुमान गरिएको छ । यो सहित नेपालमा आउने विदेशी पर्यटकको कुल पर्यटक आगमन ११ लाख ५० हजार भन्दा बढी हुने देखिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।
बोर्डको २६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ जोशीले नेपालको पर्यटन सन् २०१९ को अवस्थामै फर्केको बताए । ‘२०२३ मै पर्यटन पुनस्स्थापना भैसक्नुपर्ने थियो, एक वर्ष ढिला गरी करिब पुरानै अवस्थामा फर्किएका छौँ, ‘ सीईओ जोशीले भने, ‘२०२४ को डिसेम्बर अन्तिमसम्म साढे ११ लाख पर्यटक भित्रिएका छन् ।’
बोर्ड स्थापनाको २६ वर्ष पुगे पनि आक्रमक रूपमा बढ्न नसकेको बताउँछन् । नेपालको पर्यटक विदेशीलाई लक्षित गरेकोमा पछिल्लो दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण भइरहेको बताएका छन् ।
नेपालमा गत वर्ष २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएका थिए । नेपाल आएका पर्यटक गत वर्षको तुलनामा यो वर्ष १ लाख ३५ हजारले बढेको छ । नेपालमा पर्यटक आगमन गत वर्षको तुलनामा सन् २०२४ मा करिब १३ प्रतिशतले पर्यटक आगमन बढेको छ ।
नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । नेपालको पर्यटनको इतिहासमा उक्त तथ्यांक हालसम्मकै धेरै हो । त्यसपछि सन् २०२० देखि कोरोना महामारीका कारण थलिएको पर्यटन पुनः रेकर्ड ब्रेक गर्ने बाटोमा गएको बोर्डका सीईओ जोशीले बताए ।
उनका अनुसार सन् २०२५ मा नेपालले १३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिलेकै आगमन दरको हिसावले सन् २०२५ मा सहजै १३ लाख पर्यटक आउने अनुमान नेपाल पर्यटन बोर्डको छ । बोर्डका अनुसार अहिले साढे ११ लाख पर्यटक आउँदा गत वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढेको छ भने यो वर्षको तुलनामा आगामी वर्ष जम्मा १३ प्रतिशतको मात्रै बृद्धि लक्ष्य सामान्य हो ।