क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न ढकालको आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको बताएका छन् ।

साथै उनले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन एशियाली लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एशियाली व्यापार प्रवर्द्धन फोरम (एटीपीएफ) को कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले समावेशी समृद्ध एशियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तिकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरे ।उनले नेपालजस्ता विकासोन्मुख राष्ट्रमा लगानी बढाउन र निर्यात बजारमा थप सहुलियत प्रदान गर्न पनि आह्वान गरेका छन् ।

नेपालमा साना तथा मझौला उद्योगहरूले कुल गार्हस्थ उत्पादन (जीडीपी) को लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको पनि उनले बताए ।

नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैंचा, थांका, चित्रकला र परम्परागत संगीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

पर्यटनमार्फत् पनि साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले आग्रह गरे। बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा नेपालले लगानी खोजिरहेको भन्दै उनले साझेदारीका लागि पनि लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले बताए ।

लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धी विभिन्न कानूनहरू परिमार्जन गरेको तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेमवर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि उनले आग्रह गरे ।

साथै उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न उद्योग वाणिज्य महासंघले हेल्पडेस्कमार्फत् विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको पनि बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.