टेलिकममा कसलाई एमडी बनाउन थपियो नयाँ व्यवस्था ? ‘उमेरहदले’ बाहिरिए सिंह

काठमाडौं । आफू अनुकूलको व्यक्तिलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) बनाउन विभिन्न प्रावधानहरूमा संशोधन गरेर दरखास्त आव्हान गरिएको छ । यसअघि एमडी नियुक्त गर्दा भएको प्रावधानलाई पन्छाएर नयाँ व्यवस्था थपेर दर्खास्त आव्हान गरेको हो । नयाँ व्यवस्थाअनुसार हाल टेलिकमको १० औं तहमा भएका अन्नतमान सिंहलाई प्रतिस्पर्धा नै गर्न नसक्ने बनाइएको छ ।

दर्खास्त आव्हान माग गरिएको सूचनामा ३५ वर्ष पूरा भई ५६ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन सक्ने भनिएको छ । यो प्रावधान सिंहलाई नै हेरेर ल्याइएको नेपाल टेलिकमका अधिकारीहरू बताउँछन् । सिंह ११ औं तहमा बढुवा हुनेमा पहिलो नम्बरमा छन् ।

सिंह टेलिकम भित्रका अब्बल कर्मचारी हुन् । उनी पनि एमडीको दौडका लागि प्रतिस्पर्धा गर्ने मनस्थितिमा थिए । तर, सरकारले उनलाई पन्छाउने गरी उमेरहद तोकेर सूचना निकालेपछि स्वतः बाहिरिएका हुन् ।

त्यसैगरी, एमडी बन्न इच्छुक टेलिकम भित्रका कर्मचारीको ३ वर्षको अनुभव हुनुपर्ने व्यवस्था राखिएको छ । बाहिरबाट प्रतिस्पर्धामा उत्रिनेका लागि १२ वर्षको अनुभव मागिएको छ । यसअघि डिल्ली अधिकारीलाई एमडी बनाउनु परेकाले अनुभव राखिएको थिएन ।

सञ्चार सूचना तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्था राखेर सूचना प्रकाशन गर्नुको पछि आफ्ना व्यक्तिलाई एमडी बनाउने देखिन्छ । यसअघि मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रिकल इन्जिनियर, टेलिकम्युनिकेसन इन्जिनियर, कम्प्युटर इन्जिनियरमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरेका व्यक्ति मात्रै एमडीका लागि प्रतिस्पर्धा गर्न योग्य हुने छन् । यसअघि ‘कानुन’ विषय थिएन । अहिले कानुन विषय पनि राखिएको छ ।

लामो समयदेखि टेलिकमभित्रको विभिन्न विभागमा काम गरेका कर्मचारीका अनुसार हरेक एमडी नियुक्त गर्दा सरकारले आफूले ल्याउन चाहेको व्यक्तिको योग्यता हेरेर प्रावधानहरू राख्ने गरेको बताउँछन् । डिल्लीराम अधिकारी एमडी हुनुअघि कामिनी राजभण्डारीलाई ल्याउने बेलामा पनि यसै गरी व्यक्ति अनुकूल प्रावधान राखिएको उनको भनाइ छ ।

टेलिमकमा ९१.५२ प्रतिशत स्वामित्व सरकारको छ । सरकारले टेलिकममा रणनीतिक साझेदार पनि भित्र्याउने तयारी थालेको छ । यद्यपि, टेलिमकमा लगानी सहितको रणनीति साझेदार भित्र्याउने कि व्यवस्थापन मात्रै भित्र्याउने बहस चलिरहेको छ ।

स्रोतका अनुसार व्यवस्थापन मात्रै भित्र्याउने सम्भावना छ । त्यसो हुँदा टेलिकम भित्रबाट आउने एमडीबाट कुनै कार्यसम्पादन देखाउन सकेका छैनन् । अहिलेसम्म टेलिकम भित्रबाट एमडी आएका छन् । तर, उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको मन्त्रालयको निष्कर्ष छ ।

असोजसम्म टेलिकमको १ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ सम्पत्ति छ । व्यवस्थापकीय कमजोरीका कारण टेलिकमको प्रगति न्यून हुँदै गइरहेको अवस्थामा बाहिरबाट एमडी ल्याउनुपर्ने बताइएको छ ।

को को छन्, एमडीको ‘रेस’ मा 

एमडीका लागि २०७८ पुस ७ गतेसम्म समयसीमा तोकिएर माग गरिएको आवेदनमा टेलिकम भित्रबाट ५ जनाले प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । प्रमुख वित्तीय अधिकृत (सीएफओ) राजेन्द्र अर्याल, कम्पनी सचिव राजेन्द्र श्रेष्ठ, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय प्रमुख प्रेम गुरुङ, चिफ कमर्सियल अफिसर संगीता पहाडी, वायरलेस सेवा निर्देशनालयका प्रबन्धक द्वारिका पौडेल एमडीका लागि प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.