देशकै ठूलो बैंक ग्लोबल आईएमई १९ औँ वर्षमा

ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ ।  बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।

कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको  डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।

बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए)को प्रयोग गरिएको छ ।

मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।

व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त 

यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।

युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याएको यस बैंक सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।

सञ्चालन नतिजा र कारोबार समीक्षा

आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एव अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ रुपैयाँ करोडले वृद्धि भएको छ ।

सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोड रुपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ ।

कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीका अनुसार यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आएपनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको उनको दाबी छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्ब रुपैयाँले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी तर्फ पनि २७.८६ अर्ब रुपैयाँले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको सीईओ रेग्मीको भनाई छ ।

लाभांश इतिहास

यस बैंकले आर्थिक वर्ष २०६८/६९ देखि लाभांश वितरण गर्दै आएको छ । यस आवमा १३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६९/७० मा लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत, आव २०७२/७३ मा १६ प्रतिशत, आव २०७३/७४ मा २० प्रतिशत र आव २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । यस आवमा  बैंकले लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । जसमा १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा १३.६० प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आव २०७९/८० मा ९ प्रतिशत दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहेका कारण कम लाभांश वितरण गर्नु परेको बैंकको दाबी छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.