नेपालमा सुकेको लसुनको अस्वाभाविक आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा ६ अर्ब १८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ५१ हजार ६०७ किलो लसुन आयात भएको छ ।
तर विभागले भारततर्फ चोरी निकासी गर्ने उद्देश्यले चीनबाट लसुनको अस्वाभाविक आयात भएको हुनसक्ने आशंका गरेको छ । जानकारहरूका अनुसार स्वदेशमै पनि उत्पादन हुने लसुन देशभित्र यति ठुलो परिमाणमा खपत हुन सक्ने अवस्था छैन । पछिल्लो समय भारतीय बजारमा लसुनको मूल्य प्रतिकिलो ३०० देखि ४०० भारतीय रुपैयाँसम्म रहेको छ । चीनमा लसुनको मूल्य नेपाली १५० रुपैयाँसम्म होलसेल मूल्य रहेको छ ।
चालु वर्षको ६ महिनाको अवधिमा अस्वाभाविक रूपमा लसुन आयात बढ्नुमा अवैध रूपमा निर्यात नै हुनसक्ने विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले बताए । चीनबाट आयात भएर अवैध रूपमा भारततर्फ निर्यात भएको आशंकामा अर्थ मन्त्रालयको निर्देशनमा विभागले यसबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
‘आयात देखिएको छ, निर्यात छैन । अस्वाभाविक रूपले आयात बढ्दा अवैध रूपमा निर्यात भएको हो कि भनेर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘अनुसन्धान विभागले गर्ने नियमित खालकै हो । तर त्यसलाई अझै कडाइ गरेका छौँ ।’ उनले अगाडि भने, ‘औपचारिक च्यानलबाट पनि निर्यात भएको छैन । अवैध रूपमा निर्यात भएको पनि भेटिएको छैन । त्यसैले यही हो भन्नसक्ने अवस्था चाहिँ छैन ।’ उसो त सीमा क्षेत्रमा चिनियाँ लसुन बारम्बार बरामद हुनुले पनि अवैध निर्यात भएको आशंकामा बल पुगेको अधिकारीहरु बताउँछन् ।
विभागको तथ्यांक हेर्ने हो भने चालु वर्षमा आयात भएको लसुनमध्ये चीनबाट ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ३९ हजार १०७ किलो लसुन आयात भएको छ । अर्थात करिब सबैजसो लसुन चीनबाटै आयात भएको देखिन्छ । समग्रमा सरकारले लसुन आयातबाट १ अर्ब ५९ करोड ६५ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन पनि गरेको छ । तर, वैध माध्यमबाट ६ महिनाकै अवधिमा ९ लाख २० हजार रुपैयाँ बराबरको ३८३ किलो लसुन मात्रै निर्यात भएको देखिन्छ ।
गत वर्षको साउनदेखि पुससम्मकै अवधिमा ८७ करोड ८९ लाख ९० हजार रुपैयाँको ६७ लाख ७४ हजार ८५७ किलो लसुन आयात भएको थियो । गत वर्षको तुलनामा चालु वर्षको ६ महिनामा ७ गुणा भन्दा बढी मूल्यको लसुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।