मनाङमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेश रोक

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको लर्को लागेको छ । साविकका वर्षजस्तै दशैं र तिहार बिदालाई सदुपयोग गर्दै मनाङ घुम्नका लागि आन्तरिक पर्यटक आएका हुन् ।
सरकारले देशभर लकडाउन खुकुलो बनाउँदै आवागमन सहज बनाए पनि हिमाली जिल्ला मनाङमा भने ७२ घण्टा पीसीआर रिपोर्टका आधारमा मात्रै प्रवेश दिने गरेको छ । कोभिड–१९ को संक्रमण जोखिम कायमै रहेका बेला आन्तरिक पर्यटकको आगमन बढेपछि पीसीआर रिपोर्टको आधारमा मात्रै जिल्ला प्रवेश गराएको हो ।
उच्च स्वास्थ्य सतर्कताका साथ पर्यटन व्यवसायलाई निरन्तरता दिन मनाङका सरोकारवालाले निश्चित मापदण्ड बनाएर आन्तरिक पर्यटक प्रवेश खुल्ला गरेका हुन । लामो समय व्यवसाय ठप्प भएपछि पर्यटन व्यवसायलाई चलायमान बनाउन स्थानीय सरकार, पर्यटन व्यवसायी एवं सरोकारवालाले छलफल गरी निश्चित मापदण्ड बनाएर प्रवेश गराउने निर्णय गरेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । “पर्यटन व्यवसायलाई चलायमान बनाउन सरोकारवाला सबैले निर्णय गरेका हौँ,” व्यवसायी गुरुङले भने, “यत्तिकै खुला गर्दा जोखिम हुनसक्छ त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्रै व्यवसाय चलायमान बनाउने निर्णय गरेका छौँ ।”
देशका विभिन्न जिल्लाबाट घुम्नका लागि आन्तरिक पर्यटक मनाङ आए पनि मनाङ प्रशासनले अधिकाँश पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाएपछि फर्किन बाध्य भएका छन् । विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण पीसीआर रिपोर्ट नभएका पर्यटकलाई जिल्ला सिमानाबाट फर्काएको हो ।
कोरोना संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय पालिकाको समन्वयमा पीसीआर रिपोर्ट नभएकालाई फिर्ता पठाउने गरिएको मनाङ प्रशासनले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरिका अनुसार जिल्लाको भौगोलिक संरचना र जटिलताका कारण सम्भावित जोखिमलाई आँकलन गरी पीसीआर रिपोर्ट अनिवार्य गरीएको हो । “मनाङ भौगोलिक रूपमा निकै विकट छ, भन्ने बित्तिकै उद्धार गर्न सकिँदैन,” प्रजिअ गिरिले भने, “स्वास्थ्यसम्बन्धी पूर्वसतर्कता नअपनाए भोलि व्यवस्थापन गर्न हामीलाई नै कठिन हुन्छ ।”
अधिकाँश आन्तरिक पर्यटक मनाङमा अवस्थित सर्वाधिक उचाइमा रहेको तिलिचो तालसम्म पुग्नका लागि आउने गरेका छन् । तर जिल्ला प्रवेशमै रोक लगाएपछि उनीहरू लमजुङ–मनाङ सिमानासम्म पुगेर फर्किएका छन् ।
सीएमसी मनाङले बाह्य जिल्लाबाट प्रवेश गर्नेलाई अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, गाउँपालिकाभित्रका नागरिक, सरकारी कर्मचारीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सावधानी तथा सामाजिक दूरी अनिवार्य पालना गर्नुपर्ने लगायतका निर्णय गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.