नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वर्षमा प्रवेश गरेको छ । आइक्यानले आफ्नो वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी र मुलुकभरी विविध कार्यक्रम आयोजना गर्यो ।
आइक्यानको वार्षिकोत्सव मुख्य कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए ।
पौडेलले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए । मुलुकको कर प्रणाली सुधार र राजश्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए । कर र राजश्वको क्षेत्रमा आवश्यकताअनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए ।
व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने पौडेलको भनाई छ । कर सुधार र राजश्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कले यस्तो नदेखाएको भन्दै उनले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं र तर त्यसमा चाहेअनुसार सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’
पौडेलले पूँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ । सरकारले अर्थतन्त्रसामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानून संशोधन गर्न अध्यादेश ल्याएको बताए ।
पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दावी गरे ।
महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रुपमा रहेको उनको भनाई छ ।
आइक्यानका अध्यक्ष प्रविणकुमार झाले लेखा, लेखापरीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञको रूपमा हेरिँदै आइएको बताए । चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखापरीक्षण तथा परामर्शसम्बन्धी सेवा दिँदै आएको भन्दै उनले विभिन्न अध्ययन तथा छानबिनसम्बन्धि समितिमा रहेर समेत काम गरिरहेको बताए ।
आइक्यान उपाध्यक्ष निलबहादुर सारु मगरले नेपालमा पनि ठूला ठूला काम गर्ने फर्म सञ्चालनमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए । कार्यक्रममा संस्थामा २० वर्षभन्दा बढी अवधि सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । यस्तै संस्थामा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा भाग लिने कर्मचारीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
अध्यक्ष झाले आव २०८०–८१ को वार्षिक प्रतिवेदन तथा २०८१–८२ देखि २०८५–८६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरे । यस रणनीतिमा ४ प्रमुख रणनीतिक नियत, २० रणनीतिक लक्ष्य र ८० कार्यनीति रहेको संस्थाले जनाएको छ । रणनीतिहरुमा लेखा व्यवसायको पहुँच र विश्वसनीयता बिस्तार गर्ने, सदस्यहरुलाई अधिकतम सहभागिता र सरोकारवालासँग सहकार्य गर्ने, आर्थिक समृद्धिका लागि सरकारको साझेदारीका रुपमा बिस्तार गर्ने र ग्लोबल स्ट्यान्डिङ अभिवृद्धि गर्ने तथा संस्थागत प्रभावकारीता र दीगो विकास रहेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तरगत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दै आएको छ ।
संस्थाले बिहीबार नै सातौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह आयोजना गर्यो । यस अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा ७७ जना विद्यार्थी दीक्षित भएका छन् ।