पूर्वाधार विकासले पर्यटकीय गन्तव्य झाँक्रीपानी

म्याग्दी-पूर्वाधार विकासले मंगला गाउँपालिका–४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसँगै निलगिरि, अन्नपूर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुछ्रे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकीयस्थल झाँक्रीपानीमा पूर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।
प्राकुतिक सुन्दरताले भरिपूर्ण २ हजार ५ सय मिटर उचाइमा रहेको झाक्रीपानीमा सडक, भ्यूटावर, होमस्टेलगायतको पूर्वाधारको विकासले प्राकृतिक दृष्य र स्थानीयबासीको जीवनशैलीको अध्ययन गर्न पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयबासी तथा होमस्टे सञ्चालक समितिका अध्यक्ष राजकुमार थापा मगरले बताए । कोरना कारण व्यवस्थित रुपमा होमस्टे सञ्चालनमा ढिलाई भएको जानकारी दिए ।
हिमालसँगै जिल्लाका दर्जनौ ग्रामिण बस्तीको दृष्य र स्थानीय कला संस्कृति, भेषभुषालगायतको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो गाउँ सडक, भ्यूटावर र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको स्थानीय युवा दर्पण रोकाले बताए । स्थानीय तहले पर्यटकीय गन्तव्य रुपमा पहिचान गरेर पूर्वाधार विकास जोड दिएपछि स्थानीयले पूर्वाधार निर्माणमा जनश्रमदान गरेको उनले भने । पर्यटकीय सम्भावना बोकेको झाँक्रीपानीमा गाउँपालिकाले सडक, भ्यूटावर निर्माण र होमस्टे सञ्चालनका तालिम लगायतको सुविधा दिएको उपाध्यक्ष सिर्जना केसीले बताइन् । प्रदेश र संघ सरकारसँग समन्वय गरेर पर्यटन पूर्वाधार विकास गरिएको उपाध्यक्ष केसीले बताइन् । उनले यहाँको कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादन प्राथमिकता दिएर व्यवस्थित रुपमा होमस्टे सञ्चालन गरेर आम्दानी स्रोत बनाउन स्थानीयबासीलाई आग्रह गरिन् ।
पूर्वाधार विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक दुई÷ तीन दिनसम्म बस्न मिल्ने वातावरण बनाउन स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने लायन्स क्लव अफ् बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले बताए । प्राकृतिक दृष्य, गाउँले जीवनशैली, अग्र्यानिक खानासँगै होटल तथा लजको सुविधा पर्यटकको रोजाइमा देखिन्छ ।
सदरमुकाम बेनीदेखि बगरफाँट, बास्कुना, थामडाडा हुँदै बरंजाको विभिन्न गाउँहरु दृष्य अवलोकन गर्दै यातायात सुविधाबाट झाँक्रीपानी पुग्न सकिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.