फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेको बताएका छन् । बन्द भएका उद्योगलाई पनि नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने उनले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घको रजत जयन्तीका अवसरमा शुक्रबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँ आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनको भनाइ छ ।

‘हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन् । धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ,’ उनले भने, ‘ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु। तपाईंहरू लगानी गर्नुस्, लगानी खोन्दै अरूलाई खोला दिइरहनु पर्दैन।’

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताए । राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताए । आगामी १५ दिनपछि हुने संसदको अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने उनको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.