भटमासको तेलले बढायो निर्यात व्यापार, दुई महिनामा ४४ अर्बको वस्तु निकासी

चालु आर्थिक वर्षको दुई महिनामा भटमासको तेल (सोयाविन आयल) निकासी २००.८ प्रतिशतले बढेको छ । भदौसम्म नेपालबाट भारतलगायत मुलुकहरुमा १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँको निकासी भएको छ । गत वर्षको यसै अवधिमा ५ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको निकासी भएको थियो ।

कुल निकासीमा भटमासको तेलको हिस्सा ३७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.५ प्रतिशतले वृद्धि भएको थियो । भटमासको निर्यात बढेपछि निर्यात व्यापारमा सुधार देखिएको हो । भदौसम्म २ महिनामाको अवधिमा आयल केक ३७२.६ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ ।

चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष ०७८/०७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई ३ खर्ब १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष ०७८/०७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको यस्तो आयात भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.