भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड

भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूले जोड दिएका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले विधेयकमाथिको छलफल नसकिएको भन्दै चाँडै टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् ।

सांसदहरूले विधेयक टुङ्ग्याउनको लागि लगातार छलफल गर्नु आवश्यक रहेको बताए । उनीहरुले समितिको बैठक समयमा नबस्ने, बैठक बस्ने भनेको दिन पनि तोकिएको समयभन्दा १ घण्टा ढिला हुने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए । आइतबार बैठकमा संशोधनकर्तालाई बोलाए पनि नेकपा एमालेका दुई जना संशोधनकर्ता सांसदको मात्रै उपस्थिति रहेको थियो । बैठक १० बजे बस्ने भनिएर पनि समिति सभापति ढिला उपस्थित भएपछि ११ बजे सुरु भएको हो ।

एमाले सांसद सूर्य थापाले तोकिएको समयमा बैठक बस्न नसक्नु सभापतिको कमजोरी देखिएको बताए । उनले समितिले तोकिएको समयमा बैठक सुरु गर्न आवश्यक रहेको बताए ।

उनले समितिले दुई वर्षसम्म पनि भन्सार विधेयक टुङ्ग्याउन नसकेको बताए । उनले पाँच वर्षसम्म एउटै विधेयकका विषयमा छलफल मात्रै नभई सहमति गरी टुङ्ग्याउन आवश्यक रहेको बताए । उनले विधेयकलाई समय तोकेर टुङ्ग्याउन आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार विधेयकमा लामो छलफल मात्रै भन्दा पनि टुङ्ग्याउने गरी छलफल अघि बढाउन आवश्यक रहेको बताए । उनले सहमति नभएका विषयमा उपसमिति बनाएर भएपनि यही अधिवेशनमा भन्सार विधेयकलाई संसदमा पेस गर्नुपर्नेमा जोड दिए । उनले भन्सार विधेयकलाई वर्तमान समय सापेक्ष बनाउने गरी समय दिन सक्ने सांसदहरूलाई समेटेर उपसमिति बनाएर जान समितिलाई सुझाव दिए ।

अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयको टिम बजेट निर्माणमा लाग्नुपर्ने भएकाले चाँडै टुङ्ग्याउन आवश्यक रहेको बताए । उनले लामो समयसम्म भन्सार विधेयकका विषयमा छलफल भएकाले अब ढिलो नगर्न आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट बनाउने चरणमा पनि प्रवेश गरेकाले अर्थ मन्त्रालयले समय व्यवस्थापन गर्न असहज हुने अवस्थामा रहेको बताए । उनले भन्सार विधेयक भन्सार प्रशासनमा अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दिशामा अघि बढिरहँदा र राष्ट्रभित्र व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्नेगरी अघि बढ्नु पर्नेमा जोड दिए ।

संशोधनकर्ता सांसदहरूले भन्सार विधेयकलाई भन्सार प्रशासनप्रति विश्वासिलो बनाउन आवश्यक रहेको बताए ।

उनीहरुले भन्सार एजेन्ट लगायत भन्सारमा हुने चोरी निकासी नियन्त्रण गर्नसक्ने गरी भन्सार विधेयक बन्नुपर्नेमा जोड दिए । भन्सार विधेयकले आन्तरिक व्यापार व्यवसायलाई सहज र सुरक्षित बनाउने विषयलाई प्राथमिकता दिन आवश्यक रहेको उनीहरुले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.