यसै वर्षदेखि फाइभजीको परीक्षण सुरु गर्न नेपाल टेलिकमलाई मन्त्री गुरुङको निर्देशन

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। नेपाल टेलिकमको आज १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्। उनले नेपाल टेलिकमलाई ग्राहकको विश्वास प्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए।

दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाइ र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न पनि मन्त्री गुरुङले सुझाव दिए। उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औंल्याए। कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन स्ट्रयाटेजिक म्यानेजमेन्ट पार्टनरको व्यवस्था गर्नुपर्ने तथा प्रविधिको विकासक्रम अनुसार जीएसएम फाइभजीसेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिए। 

मन्त्री गुरुङले नेपाल टेलिकमको विशिष्ट कार्यप्रकृति र कर्मचारीको

वृत्तिविकास तथा ग्राहकलाई उपलब्ध गराउन सकिने उच्चस्तरीय सेवाहरु सुनिश्चित गर्न सक्नेगरी कर्मचारी विनियमावली शिघ्र कार्यान्वयन गर्नेतर्फ पनि ध्यानाकर्षण गराए। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकले उपयोग गरेका अनलाइन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए। उनले संकटको समयमा पनि कम्पनीका सेवाहरु निरन्तर रुपमा उपलब्ध गराइरहन सहयोग पुर्याउने सम्बन्धित निकायहरु र कर्मचारीलाई धन्यवाद दिए। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहक आधार अन्य सेवा प्रदायकभन्दा बढी भए पनि राजश्वमा सोअनुरुप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गरे। उनले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुन सक्ने धारणा राखे। 

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुआत गरेको बताए। फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्ने अधिकारीले बताए। 

यसैबीच कार्यक्रममा मन्त्री गुरुङले कम्पनीका सेवाहरुका बारेमा अर्टिफिसिय इन्टिलिजेन्सीको उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबट सेवाको सफ्ट लन्च गरेका छन्। उनले कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गरे। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.