यी ५ मध्ये एकजना बन्नेछन् नेप्सेको सीइओ

लामो समयदेखि रिक्त रहेको नेपालको पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले आवेदन दिएकामध्ये शैक्षिक योग्यता तथा व्यवसायिक कार्ययोजनाको परीक्षणबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

अर्थमन्त्रालयबाट गठित छनौट तथा सिफारिस समितिका अनुसार सर्टलिस्टमा रिब्दीकोट ७ पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर २३ का डा. केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रवीन प्रन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला, नवलपरासीका डा. रमेशकुमार भण्डारी छन् ।

उनीहरुलाई पुस २५ गते  आइतबारका दिन विभिन्न समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि अर्थमन्त्रालयको सुवर्ण हलमा डाकिएको छ ।

सिफारिस समितिले यिनै ५ जनामध्ये उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका नाममध्येबाट एकजनालाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत बनाइनेछ ।

सर्टलिस्टमा परेकामध्ये कृष्णबहादुर कार्की र डा. केशवप्रसाद श्रेष्ठ सेयर लगानीकर्ता तथा सक्रिय कारोबारी हुन् । डा. श्रेष्ठले सेयर बजारसँग सम्बन्धित एउटा अनलाइनमा लगानी समेत गरेका छन् ।

यस्तै, प्रवीन पन्दाक नेप्सेकै उच्च तहमा कार्यरत कर्मचारी हुन् । यसअघिको सीइओको प्रतिस्पर्धामा समेत उनलाई दाबेदारको रुपमा हेरिएको थियो । तर, त्यसबेला चन्द्रसिंह साउदलाई नेप्सेको सीइओ बनाइएको थियो ।

अन्य प्रतिस्पर्धीमध्ये झापाका रमेश घिमिरे एसबीआई बैंकमा कम्पनी सचिव भइसकेका र हाल एनसेलमा कार्यरत कर्मचारी हुन् । यसपटकको सीइओको दौडमा घिमिरेको निकै धेरै संभावना रहेको स्रोतहरु बताउँछन् ।

डा. रमेशकुमार भण्डारी चाहि आरबीबी मर्चेन्ट बैंकिङमा सीइओ भइसकेका व्यक्ति हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.