लघुवित्तको सेयर अफलोड गर्ने समय दिन माग गर्दै राष्ट्र बैंक पुगे विकास बैंकका सीईओहरू, डेढ महिनाभित्रै सबै बिक्री गर्ने प्रतिबद्धता जाहेर

काठमाडौं । विकास बैंकहरुले दोस्रो बजारबाट खरिद गरेको लघुवित्त (माइक्रोफाइनान्स) कम्पनीको सेयर अफलोड (बिक्री) गर्ने समय दिन राष्ट्र बैंकसमक्ष माग गरेका छन् । राष्ट्र बैंकले माघ ११ गते पत्र काट्दै विकास बैंकले माईक्रोफाइनान्सको सेयर गरेको लगानीको विस्तृत विवरण माग गर्दै थप लगानी नगर्न आन्तरिक रुपमा निर्देशन दिएसँगै आधादर्जनभन्दा बढी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले गतहप्ता नियामक निकाय राष्ट्र बैंक समक्ष पुगेर आफुले यसअघि दोस्रो बजारबाट खरिद गरेको लघुवित्तको सेयर बिक्री गर्ने समय दिन माग गरेका हुन् 

पछिल्लो समय विशेषगरी विकास बैंक तथा फाईनान्स कम्पनीले आफ्नो उद्देश्य अनुरुप निक्षेप संकलन तथा कर्जा परिचालन भन्दा पनि ब्याजदर सस्तिएसँगै बढ्दो बजारमा लगानी गरेर प्रतिफल आर्जन गर्न केन्द्रित भएसँगै राष्ट्र बैंकले त्यसमा कडाई गर्दै विस्तृत विवरण माग गरेको थियो ।

राष्ट्र बैंकले माइक्रोफाइनान्स कम्पनीहरुको सर्वसाधारणतर्फको सेयर लगानीमा बन्देज लगाउने बुझेर केही विकास बैंकहरुले घ बर्गका संस्था अर्थात माइक्रोफाइनान्स कम्पनीहरुको साधारण सेयरमा भएको लगानी हटाउन सेयर बिक्री चाप बढाएका छन् । साथै अहिलेको अवस्थामा धेरैजसो विकास बैंकले ठूलो मात्रामा लघुवित्तका सेयर खरिद गरेको र राष्ट्र बैंकले तत्काल सर्कुलर जारी गर्दा आफ्नो नाफामा गिरावट आउनुका साथै बजारमा समेत नकारात्मक असर पर्ने भन्दै विकास बैंकका सीईओहरुले राष्ट्र बैंक नै पुगेर आफुसँग भएको सेयर बिक्री गर्ने समय दिन माग गरेका हुन् ।

गतहप्ता मंगलबारमात्रै राष्ट्र बैंक पुगेर आफुहरुसँग भएको लघुवित्तको सेयर बिक्री गर्ने समय १ देखि डेढ महिनाको समय दिन अनुरोध गरिएको एक विकास बैंकका सीईओले जानकारी दिए । ‘राष्ट्र बैंकले हामीसँग पत्र नै काटेर यस अघि खरिद गरेको सेयरको विस्तृत विवरण माग गर्दै अबका दिनमा थप लगानी नबढाउन मौखिक रुपमा निर्देशन दिएसँगै यसअघि खरिद गरेको सेयर अफलोड गर्ने समय दिन राष्ट्रबैंक नै पुगेर आग्रह गरेका छौं,’ ती सीईओले भने ।

यसैगरी राष्ट्र बैंकले स्रोतका अनुसार मंगलबारमात्रै आधा दर्जनभन्दा बढी विकास बैंकका सीईओहरु आएर यस अघि आफुहरुले दोस्रो बजारबाट खरिद गरेको लघुवित्तको सेयर बिक्री गर्ने समय दिन आग्रह गरेको जानकारी दिएको छ । ‘मंगलबार मात्रै आधादर्जन भन्दा बढी विकास बैंक सीईओहरुले छुट्टछुट्टै समय आएर आफुसँग भएको सेयर बिक्री गर्ने समय दिन माग गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उहाँहरुले डेढ महिनाभित्र आफुहरुले दोस्रो बजारबाट खरिद गरेको माईक्रोफाइनान्सको सेयर बिक्री गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ।’

नेपाल राष्ट्र बैंकबाट निक्षेप तथा कर्जा परिचालनका लागि लाइसेन्स लिएका बैंक वित्तीय संस्थाले क्षणिक लाभका लागि बढ्दो सेयर बजारमा लगानी गर्दा आगामी दिनमा थप जोखिम बढ्ने भन्दै राष्ट्र बैंकले त्यसमा कडाई गरेको हो । राष्ट्र बैंकबाट तोकिएको क्षेत्र तथा देशमा औद्योगिक प्रर्वद्धनका कर्जा प्रबाह गर्ने उद्देश्य अनुरुप लाईसेन्स लिएका संस्थाहरुले आफ्नो उद्देश्यभन्दा बाहिर गएर क्षणिक लाभका लािग सेयर बजारमा लगानी गर्ने क्रम उच्च रुपमा बढेको छ ।

पछिल्लो समय कर्र्जा तरलता (लगानीयोग्य पूँजी) बढी हुँदा प्रतिस्पर्धाले कर्जाको घट्दो ब्याजदरका कारण बैंकहरुले जति मूल्यमा आउँदा त्यतिमै सेयर उठाई मूल्य बढाएर सेयर बजारमा लगानी गर्दै आएका छन् ।

कतिपय विकास बैंक तथा फाइनान्स कम्पनीको दोस्रो त्रैमासको आम्दानीको मुख्य स्रोत नै सेयर बजारमा लगानी गरेर आएको आम्दानी रहेको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीका सीईओ तथा उच्चपदस्थ कर्मचारीहरुले नयाँ कर्जा विस्तारका लागि रणनीति बनाउने भन्दा पनि ११ बजेदखि बजार चलुन्जेल सेयर कारोबारमै व्यस्त हुने गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.