विदेशमा बस्ने नेपालीसहित धनगढीका व्यापारीको लगानीमा खुल्यो एम्युजमेन्ट पार्क

काठमाडौं। ३५ करोड लगानीमा कोहलपुर-नेपालगञ्ज सडकको हवल्दारपुरमा एम्युजमेन्ट पार्कसहितको ब्यांकेट संचालनमा आएको छ। एम्युजमेन्ट पार्कमा साथी होटलका संचालक दिनेश भण्डारीसहित ३५ जनाको संयुक्त लगानी छ।

कम्पनीका अध्यक्ष भण्डारीले कोभिडका कारण सात महिनापछि एम्युजमेन्ट पार्क संचालनमा आएको जानकारी दिए। ‘हामीले फागुन अन्तिम सातामा एम्युजेमेन्ट पार्क उद्घाटनको कार्यक्रम राखेका थियौं। तर अचानक कोभिडका कारण सबै पछाडि धकेलिदियो,’ उनले बिजमाण्डूसँग भने, ‘महामारीका कारण सात महिना ढिला औपचारिक रूपमा संचालनमा आएको छ।’ साढे तीन बिघामा संचालनमा रहेको यो पार्क काठमाडौं बाहिरको सबैभन्दा ठूलो र धेरै खेल भएको एम्युजमेन्ट पार्क भएको उनले दाबी गरे।

‘हामीले भारतीय पर्यटकलाई लक्षित गरेर यो पार्क निर्माण गरेका हौं,’ भण्डारीले भने, ‘भारतीय पर्यटकको समेत चाहना हेरेर विभिन्न खेलहरु राखेका छौं।’ उनका अनुसार एम्युजमेन्ट पार्कमा रोप साइक्लिङ, जीपलाइन, जायन्ट स्वीङ, बन्जी जम्प लगायतका धेरै खेलहरु छन्। रेन डान्स, वेभपुल लगायत छन्।

‘हामीले सकेसम्म भारतका एम्युजमेन्ट पार्कमा राखिएको खेललाई हेरेर यहाँ राख्ने प्रयास गरेका छौं। अन्तर्राष्ट्रिय स्तरकै पार्क बनाउन हामीले ठूलो लगानी गरेका हौं,’ भण्डारीले भने, ‘हाम्रो उद्देश्य स्वदेशी उपभोक्ताले पनि अन्तर्राष्ट्रिय स्तरको पार्कको फिल गर्न सकुन् भन्ने पनि हो।’ उनले नेपालगंजबाट नजिकै रहेको भारतको बहराइचबाट पर्यटक आउने अनुमानका साथ ठूलो लगानी गरेर पार्क निर्माण गरिएको बताए।

‘बहराइच क्षेत्रमा एक करोड जनसंख्या छ,’ भण्डारीले भने, ‘दुई प्रतिशत (दुई लाख) मात्रै पर्यटक आउँदा पनि पाँच सयको दरले खर्च गर्दा १० करोडको कारोबार हुन्छ। यो बाहेक पनि नेपालगंज आसपासमा बोर्डिङ स्कुल र कलेजमा पढ्ने पाँच लाख विद्यार्थी छन्। उनीहरु केही मात्रामा आउँदा हामीले पार्क सहजै चलाउने अनुमानका आधारमा सामूहिक लगानी गरेका थियौं।’

भण्डारीले कोभिडका कारण भने सुरुमा केही समस्या भएपनि दीर्घकालीन लगानी भएकाले आत्तिनु नपर्ने बताए। ‘कोभिड लामो समय नरहला। कोभिडको भ्याक्सिन आउनेबित्तिकै घुम्ने संस्कृति विकास हुन्छ र हामीले मुनाफा पाउन लामो समय लाग्ने देख्दैनौं,’ उनले भने। उनका अनुसार पार्कभित्रै दुई सय जना अट्ने ब्यांकेट हलसमेत छ।

‘हामीले विवाह, व्रतबन्ध लगायतको पार्टी समेत गर्न मिल्ने ब्यांकेट हल पनि बनाएका छौं। यो बाहेक छुट्टै टेन्ट राखेर पनि पार्टी गर्न सकिने यथेष्ट स्थान छ,’ उनले भने, ‘ठूलो क्षेत्रफलमा पार्टी गर्दा बेग्लै आनन्द पनि प्राप्त हुन सक्छ।’ अहिले यो एम्युजमेन्ट पार्क र ब्यांकेटमा सय जनाले रोजगारी पाएका छन्। यही पार्कभित्रै होटलसमेत निर्माण गर्ने योजनामा रहेको उनले बताए।

विदेशमा बस्नेको समेत लगानी

एम्युजमेन्ट पार्कमा ठूला व्यवसायीको मात्रै होइन विदेशमा बसेर काम गर्ने नेपालीले समेत लगानी गरेका छन्। विदेशमा बस्ने ८ जना नेपालीले यो पार्कमा लगानी गरेका छन्।

‘विदेशमा बस्ने नेपालीले केही कमाएको पैसा सानो टुक्रा जग्गा किनेर राख्ने गरेका थिए। तर हामीले कुनै व्यवसायिक योजना बनाउँछौं लगानी गर्नुस् भन्यौं,’ भण्डारीले भने, ‘हामीले एम्युजमेन्ट पार्क बनाउने योजना विदेशमा बस्ने साथीहरुलाई सुनायौं। विभिन्न देशमा बसेर काम गरिरहनुभएका ८ जनाले लगानी गर्नुभयो। योजना बनाएपछि धेरै साथीले लगानी गर्न खोज्नुभएको थियो। यो परियोजनामा लगानी पुगिसकेकोले अर्कोमा राख्ने सहमति गरेका छौं।’

उनका अनुसार यो परियोजनामा तीन बिघा (७० कठ्ठा) जग्गा छ। ‘सबैलाई पैसाका आधारमा जमिन छुट्याइदिएका छौं। त्यसमा पार्कको लगानी हाल्न भनेका छौं,’ भण्डारीले भने, ‘उहाँहरुले वार्षिक रूपमा कमाएको आधारमा मुनाफा पाउनुहुनेछ भने निश्चित वर्षपछि जग्गा पाउनुहुनेछ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.