स्टान्डर्डको एफपिओ यसै साता बाँडफाँड हुने

आर्थिक समाचार

बैशाख १७,काठमाडौं ।

गत चैतको पहिलो चार दिन खुलेको स्टान्डर्ड चार्टड बैंकको एफपिओ शुक्रबारसम्म बाँडफाँड हुने भएको छ। नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको सीमाभित्रै स्टान्डर्डको एफपिओ बाँडफाँड गर्ने बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।
चैत १ देखि ४ गतेसम्म २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओको बिक्री खुलाइएको थियो। निश्कासन बिक्री बन्द भएको ५० दिनभित्रै वैशाख २५ भित्र बाँडफाँड गर्न बोर्डले आग्रह गरेको थियो।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले बोर्डले दिएको समयसीमा अगावै बाँडफाँड गरिने जानकारी दिए। ‘यो साताको शुक्रबारभित्र नै बाँडफाँड गर्ने छौँ, चाँडो बाँडफाँड गर्न दिनरातजसो खटेका छौँ।’
सुरुमा ३८ अर्ब २० करोड रुपैयाँको आवेदन परेको भनिए पनि अन्तिम समयमा आएर केही घटेको छ। २ लाख २१ हजार आवेदकबाट ३६ अर्ब ९० करोड रुपैयाँको हाराहारीमा आवेदन परेको घिमिरेले बताए।
यो रकममध्ये ३ अर्ब ३० करोड रुपैयाँ लगानी भई बाँकी ३३ अर्ब ६० करोड रुपैयाँ बजारमा फिर्ता हुनेछ। यसले गर्दा तरलता प्रवाह केही बढ्ने छ। अहिले एफपिओ आवेदनको भेरिफिकेसन तथा रिकन्सिलेसनको काम भइरहेको घिमिरेले जानकारी दिए।
उनले भने ‘समय बढी लाग्ने भनेकै रिकन्सिलेसनका लागि हो, त्यो प्रक्रिया सुरु भइसकेकाले शुक्रबारभित्रै बाँडफाँड गर्न सकिने आधार तयार भएको छ।’माग गरिएभन्दा ११ गुणा बढी आवेदन परेपछि गोलाप्रथामार्फत साना लगानीकर्तालाई १० कित्ता सेयर दिइने भएको छ।
बाँडफाँड फारम नम्वरका आधारमा नभई डिम्याट खाताको बिओ (बेनिफिसियल ओनर) आइडीका आधारबाट गरिने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यो साता एफपिओ बाँडफाँड भएपछि अर्को सातादेखि सेयर नपरेको रकम फिर्ता प्रक्रिया सुरु हुनेछ।
सम्पूर्ण रुपमा आस्बा प्रणालीबाट आवेदन पर्दा १५ दिनमै प्राथमिक निश्कासन बाँडफाँड गर्न सकिनेगरी धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको छ।
यद्यपी हाल भने आस्बा र परम्परागत दुवै तवरले आवेदन पर्ने भएकाले बाँडफाँडमा समय बढी लाग्ने गरेको सम्वद्ध अधिकारीहरुको भनाइ छ।

Leave A Reply

Your email address will not be published.