१४ सय पब्लिक कम्पनीमा ५० मात्र ओटिसी बजारमा दर्ता

१४ सय पब्लिक कम्पनीमा ५० मात्र ओटिसी बजारमा दर्ता
काठमाडौँ ।
ठुलै आकांक्षासाथ ल्याईएको ओभर द काउन्टर(ओटिसी) बजारमा अपेक्षा अनुसार कारोबार हुन सकेको छैन। हालसम्म ओटीसी बजारमा ५० कम्पनी मात्र दर्ता छन् र यिनीहरुको कारोबार पनि नगन्य मात्र हुने गरेको छ। गएको चार महिनामा नौ कम्पनीको मात्रै ओटीसी बजारमा शेयर कारोबार भएको हो।
ओटिसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले कमिसन समेत घटाएको थियो। तर, त्यसले बजार उकास्न कुनै मद्दत गरेन। पहिले जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरि बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ ।

हाल २५ हजारसम्मको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को लागि ०.०१५ प्रतिशत, बोर्डलाई ०.२० प्रतिशत कमिशत लाभकर लाग्छ। २५ हजारदेखि ५० हजारसम्मको कारोबारमा नेप्से कमिसन समान र बोर्डले ०.१८ प्रतिशत लिँदै आएको छ। ५० हजार रुपैयाँ माथिको सबै कारोबारमा नेप्से र बोर्ड दुबैका लागि ०.०१५ प्रतिशत कमिसन तोकिएको छ। सबै कारोबारमा पाँच प्रतिशत पूँजीगत लाभकर लाग्छ।
पब्लिक कम्पनीमा रुपान्तरण भएका तर सार्बजनिक शेयर निष्काशन नगरेका एवं नेप्सेबाट सूचिकरण खारेज भएका कम्पजनीको कारोबार गराउने उध्येश्य साथ ओटिसी बजार सञ्चालनमा ल्याइएको थियो।
अन्तर्राष्ट्रिय अभ्यासमा खासै सफलता प्राप्त नगरे पनि नेपालमा पब्लिकमा रुपान्तरण भएका हजार बढि कम्पनीले साधारण शेयर जारी नगरेको हुँदा ओटिसी बजारमा राम्रै कारोबार हुने अपेक्षा नियामकको नियो। ओटिसी कारोबार सञ्चालनका लागि धितोपत्र बजार संचालन नियमावली,२०६४ लाई आधार मानेर नेप्सेले ओटिसी बजार संचालन विनियमावली, २०६५ पनि बनाएको थियो।
विनियम बने पनि बजार सञ्चालनमा आएको थिएन। कम्पनी रजिष्ट्रारको कार्यालयबाट नै सार्वजनिक निष्काशन नगरेका कम्पनीको शेयर ट्रान्सफर हुँदै आएको थियो। पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय र नेप्सेबीच समझदारी भएर ओटिसी बजारलाई संचालनमा ल्याइएको हो।
२०७२ चैत ७ गते मारुती सिमेन्टको शेयर ट्रान्सफर गर्दै ओटिसी बजारबाट पहिलो कारोबार भएको थियो। त्यसपछिको एक बर्ष खासै काम नभएको बजारबाट पछिल्लो चार महिनामा भने नौ वटा कम्पनीको शेयर ट्रान्सफर भएको छ।
धितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन्। त्यस मध्ये १२ सय ५५ कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन्। ति कम्पनीमध्ये एक चौथाई मात्रै पनि ओटिसीमा आउने हो भने भ्याइ नभ्याइ कारोबार हुने देखिन्छ।
धितोपत्र बोर्ड लगायत नियामक निकायले छुट्टै कम्पनी बनाएर ओटिसी बजार सञ्चालनको लक्ष राखेका थिए। तर, कारोबारले खासै गति लिन नसकेपछि नियामक पनि यो बजारबारे अलमलमा परेका छन्।
हाल नेप्सेको कार्यालयमै एउटा बिभाग अन्तर्गत यो बजार संचालनमा छ। नेप्सेमा शेयरको अनलाइन कारोबार हुनु अगाडि जस्तै कागजमा लेखेर ओटिसी बजारमा खरिद बिक्री हुने गरेको छ। यसलाई कम्प्युटरकृत कारोबार ढाल्ने नेप्सेको योजना भए पनि मूर्त रुप पाउन सकेको छैन।
ओटिसीमा थोरै मात्र कारोबार हुनुमा दर्ता भएका कम्पनीको संख्या थोरै हुनु, त्यसमा पनि राम्रा कम्पनी बजारमा सूचीकृत हुनु लगायत कारण रहेको नेप्सेको ओटिसी बजार प्रमुख भेषराज खनालले बताए।
पछिल्लो समय बिस्तारै कारोबार संख्या बढ्दै गएको तर अहिलेनै छुट्टै कम्पनी मार्फत कारोबार गर्नु पर्ने अबस्था भने आई नसकेको नेप्सेका निमित्त महाप्रबन्धक निरन्जन अर्यालले बताए। ‘गएको बैसाख देखि  आर्थिक वर्षसम्म जम्मा नौ कम्पनीको कारोबार भएको छ। अहिलेनै कसरि छुट्टै कम्पनी बनाउन सकिएला र!’ उनले भने।