४४ बैंक तथा वित्तीय संस्थाले मागे ७२ अर्ब पुनरकर्जा

नेपाल राष्ट्र बैंकमा ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जाका लागि आवेदन परेको छ । ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा माग गरेकोे नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँको पुनरकर्जा माग भएको छ,’ उनले भने ‘ कार्तिक महिनाभरी पुनरकर्जा उपलब्ध गराइ सक्ने छौं । ’ 

यो रकम ग्राहक अर्थात ऋणीको हातमा सिधै नगइ बैंक तथा वित्तीय संस्थामार्फत जाने समेत ढकालले जानकारी दिए । ऋणीहरूले सहुलियत ब्याजदरमा बैंक तथा वित्तीय संस्थामार्फत नै यो कर्जा पाउने हुन् ,’ उनले भने । 

पुनरकर्जा कार्यविधि २०७७ ले गरेको व्यवस्था अनुसार कोभिड प्रभावित व्यवसायीलाई कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत सो रकम उपलब्ध गराउन लागेको हो । नेपाल राष्टङ बैंकले कोभिड प्रभावित व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा साधारण पुनरकर्जा उपलब्ध गराउन १४८ अर्ब रुपैयाँ छुट्याएको छ । सो कर्जामा राष्ट्र बैंकले तोेकेको समय सीमा असोज मसान्तसम्म ७२ अर्बको माग आएको हो । पुनरकर्जा कार्यविधि २०७७, अनुसार  सो पुरनकर्जा बैंक तथा वित्तीय संस्थाबाट आएका आवदेनलाई दिने भनिएको ७० प्रतिशत रकमबाट उपलब्ध गराइने छ । 

राष्ट्र बैंकसाग पुनरकर्जाको लागि २१२ अर्ब रुपैयाँ छ । ग्राहकलाई प्रत्यक्ष रुपमा दिने भनिएको कुल पुनरकर्जाको २० प्रतिशत (४२ अर्ब) रकमबाट भने प्रत्यक्ष रुपमा ग्राहकले अहिलेसम्म ५ अर्ब ९ करोड लगिसेकेका छन् । अन्यबाट पनि आवेदन आएको छ । हामी विस्तारै पुनरकर्जा उपलब्ध गराउने तयारीमा छौं । 

कोभिड प्रभावित उद्योगलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा बाडेर कर्जा प्रवाह गर्ने व्यवस्था छ । कोभिड–१९ का कारण प्रभावित उद्योग–व्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत ब्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको थियो । पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने व्यवस्था गरेको छ ।

पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल गरी असोज मसान्तसम्ममा परेका निवेदनहरुलाई कात्तिक महिनासम्म  ऋण दिइसक्ने प्रतिवद्धता समेत गरेको छ । 

राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।  बैंकहरूले तोकेका कोरोनाबाट अति प्रभावित ऋणीले १ वर्षसम्म तथा मध्यम र न्यून प्रभावित क्षेत्र भनी तोकिएकाले अधिकतम ६ महिनासम्मको अवधि रहने गरी कर्जा पाउने छन् ।

नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई तीन वर्गमा वर्गीकरण गरेर नयाँ कार्यविधि ल्याएको छ । कार्यविधिले त्यस्ता व्यवसायीलाई ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्यम व्यवसायीले पुनरकर्जामा बैंकहरूले ऋणीबाट ५ प्रतिशत ब्याज लिन पाउने छन् भने विशेष पुनरकर्जामा तीन प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन् ।

उद्यमी स्वयम् संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गीकरण गरिएको छ  । 

बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम, व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई समेटेको छ । 

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू,  प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू पाउने छन् । 

प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्री वितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू उक्त कर्जाभित्र पर्दछन् ।

सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु,  वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरूलाई विशेष पुनरकर्जामा राखिएको छ । 


जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग,  साधारण पुनरकर्जालाई साधारण पुनरकर्जाम राखिएको छ । डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्यहरू पनि यसमा समावेश गरिएको छ । 

पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरूले पुनरकर्जाको सुविधा पाउने छन् ।

त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र विशेष पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गीकरण गरिएको छ । 

पुनरकर्जा सुविधाको सीमाः

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

पुनरकर्जाका लागि अयोग्य कर्जाहरूः 

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पुनरकर्जा अयोग्य मानिने छन् । 

व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको औसत रिटन अन इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु, चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरु र बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु पुनरकर्जाको लागि अयोग्य हुनेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.