अन्य क्षेत्र जुर्मुराउँदा सेयर बजार प्रभावित, विश्लेषक भन्छन्, ‘कर्नरिङ भएपछि माथि जान्छ’

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार पनि बजारको ओरालो यात्रा जारी नै रहेको छ। आज बजार ५१.२३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४०७.२५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले घट्दै ४३५.१३ को विन्दुमा समेटिएको छ। यो दिन झन्डै ५ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

बजार जानकार अर्थशास्त्री डा मीनबहादुर क्षेत्रीले अहिले बजार घट्नुमा मुख्य ३ वटा कारणहरु रहेको औंल्याएका छन्। उनका अनुसार कोरोना शिथिल व्यापार–व्यवसाय चलायनमान हुनु र बैंकहरुले पनि त्यस्ता क्षेत्रमा कर्जा लगानी बढाउनुले सेयर बजार केही प्रभावित भएको हो। ‘कोरोनाकालमा अन्य क्षेत्रमा शिथिलता आउँदा ती क्षेत्रका लगानीकर्ताहरु पनि सेयर बजारमा आएका थिए’, उनले भने, ‘केही कोरोना महामारीको अवस्था सामान्य बन्दै गएको छ, मान्छेहरु आआफ्नो व्यापारमा लागेका छन्, यसले सेयर बजार केही प्रभावित पारेको छ।’

बजार घट्नुको अर्को मुख्य कारण भनेको बैंक ब्याजदर बढ्ने हल्ला पनि रहेको डा क्षेत्रीको भनाइ छ। ‘बैंकहरुले आक्रामक ढंगले कर्जा लगानी गरिरहेका छन्, निक्षेप संकलन भने सुस्त गतिमा अगाडि बढिरहेको छ’, उनले भने, ‘जसका कारण प्रणालीमा तरलता दबाब बढेको छ, यही कारणले ब्याजदर पनि पक्कै बढ्छ भन्ने लगानीकर्ताहरुमा परेको हुन सक्छ। जसका कारण बजार लगातार घटिरहेको हुन सक्छ।’

देशको राजनीतिक अस्थिरताले पनि सेयर बजार प्रभावित पारेको डा क्षेत्रीको अर्को तर्क छ। ‘अबको राजनीतिक माहौल के होला भन्ने लगानीकर्ताहरुमा रहेको छ’, उनले भने, ‘जसका कारण पुराना लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने साना तथा नयाँ लगानीकर्ताहरु अब बजार तल जान्छ भन्ने डरले धमाधम सेयर बेचेर बाहिरिन थालेका छन्, जसले समग्र बजारलाई प्रभावित पारिरहेको छ।’

डा क्षेत्रीले केपी शर्मा ओली नेतृत्व सरकारले नै निरन्तरता पाउन सक्ने अनुमान गरे। 

बजार घट्नुमा सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने तर्क पनि डा क्षेत्रीसँग मिल्दोजुल्दो छ। ‘अहिले अन्य क्षेत्रमा पनि लगानी धमाधम भइरहेको छ’, उनले भने, ‘कोरोना महामारीबीच सुस्ताएका अन्य क्षेत्र पनि पुनरुत्थान हुन थालेका छन्, जसका कारण सेयर बजारबाट कमाएको पैसा अन्य क्षेत्र गएको छ।’

न्यौपानेले करिब १ वर्षअघि १२०० को विन्दुमा रहेको बजार २६०० को विन्दुमा पुग्नुलाई अप्राकृतिको संज्ञा दिए। ‘एक वर्षमै १४०० अंक बढ्नु स्वभाविक होइन’, उनले भने, ‘तर बढ्यो, यसको मुख्य कारण भनेकै अन्य क्षेत्रबाट लगानी सेयर बजारमा भित्रिनु नै हो, अब अन्य क्षेत्र पनि जुर्मुराउन थालेपछि सेयर बजारबाट पैसा त्यतातिर जान थालेको प्रस्ट देखिन्छ।’

यद्यपि न्यौपानेले बजार २३०० को विन्दुभन्दा तल नझर्ने दाबी गरे। ‘यो चैत महिनाभरि बजार तलमाथि भइरहने मेरो अनुमान छ’, उनले भने, ‘सेयर कर्नरिङ भएपछि नयाँ वर्ष अर्थात २०७८ सालबाट बजार माथि जान्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह ६१.१२ अंकले उकालो लाग्दा जलविद्युत् समूहमा ४७.८२ अंकको बढोत्तरी भएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ४५३.९ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ३७४.५३ अंकले घटेको आज बैंकिङ समूहमा ३२.३३ अंक, व्यापार समूहमा २१३.१६ अंक, विकास बैंक समूहमा ३७.८४ अंक, वित्त समूहमा १८.८९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९६.३४ अंक, अन्य समूहमा ९६.३६ अंक, लघुवित्त समूहमा ९०.६८ अंक, म्युचुअल फन्ड समूहमा ०.२ अंक र लगानी समूहमा २.५६ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन माथिल्लो तामाकोशीको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २७ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २० करोड ६६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल टेलिकमको ११ करोड ९८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १० करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्स, माथिल्लो तामाकोशी, पञ्चकन्या माई हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन राइराङ हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.