आईफोन १६ आज लञ्च हुँदै, के–के थप हुनेछन् नयाँ फिचर्स ?

आईफोन निर्माता कम्पनी एप्पलले आज आईफोन १६ लञ्च गर्ने तयारी गरेको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।
आईफोन १६ को लञ्च क्यालिफोर्नियाको क्युपर्टिनोमा हुनेछ । जुन एप्पलका सह–संस्थापक स्टिभ जब्सको नाममा राखिएको हो । स्टिभले सन् २००७ मा पहिलो आईफोन लञ्च गरेका थिए । त्यस यता अरबौं आईफोनहरू बिक्री भईसकेका छन् । जसका कारण सेयरधारकहरूको सम्पत्तिमा लगभग ३ ट्रिलियन डलरले बढेको छ ।

आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरूको समावेश हुने अनुमान गरिएको छ। एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा एप्पल इन्टेलिजेन्स फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो।

कम्पनीले आईफोन १६ प्रोको स्क्रिन ६.३ इन्च र आईफोन १६ प्रो म्याक्सको स्क्रिन ६.९ इन्चसम्म बढाउन सक्ने जनाइएको छ ।

नन–प्रो मोडल आईफोन १६ र आईफोनमा प्लसमा क्यामेरा रिडिजाइनिङ गरिने सम्भावना रहेको छ । तर यी मोडलहरुको आकार एउटै हुनुका साथै ६०एचजेट डिस्प्ले हुने जनाइएको छ ।

नयाँ आईफोन १६ को लाइनअपमा ब्याट्रीको प्रविधि परिवर्तन गरिने र यसले ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । यसका साथै ब्याट्रीको चार्जिङ स्पीड पनि बढाइने छ ।

आईफोन १६ मा डुअल क्यामेरा सेटअप गरिनेछ । तर प्रो मोडलहरुमा भने तीनवटा क्यामेरा हुनेछ । प्रो मोडलमा नयाँ ४८ एमपी अल्ट्रावाइड सेन्सर देख्न सकिनेछ । जुन अहिलेको १२ एमपी सुटरको अपग्रेड हुनेछ ।

यस्तै आईफोन १६ प्रो म्याक्समा सुधारिएको ८ भाग भएको हाईब्रिड लेन्स पनि प्रदान गरिने सम्भावना रहेको छ । जसले कम लाइट र रात्रिसमयमा पनि गुणस्तरिय फोटो खिच्ने सहयोग गर्नेछ । आईफोन १६ प्रोमा आईफोन १५ प्रो म्याक्समा रहेको फाइभएक्स टेलिफोटो प्रदान गरिने सम्भावना समेत रहेको मिडिया रिपोर्टमा जनाइएको छ ।

आईफोन १६ मा अपग्रेड हुन लागेको सबैभन्दा ठूलो परिवर्तन भनेको आईओएस १८ हो । आईओएस १८ मा एआई फिचर्सहरु पनि रहने छन् । एआई जेनेरेटिभ फिचर्सले प्रयोगकर्ताका लागि कन्टेन्ट समराइज र ट्रान्सलेट गर्नेछ ।

कम्पनीले भिडियो रेकडिङका लागि नयाँ क्यापचर बटन पनि राख्ने भएको छ । यो बटन पावर बटनभन्दा केहि तल हुनेछ । आइफोन १६ प्रो र प्रो म्याक्सले वाइफाई ७ सर्पोट गर्नेछन् । यसले २.४,५ र ६ गेगाहर्ज ब्यान्डमा डेटा प्राप्त गर्न र पाउन सहयोग गर्नेछ । यसका साथै यसले वाइफाइ कनेक्सन तीव्र बनाउन सहयोग गर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.