आजै दल दर्ता गर्दै राजपा, सरकारलाई दिएको समर्थन पनि कायमै, अब चुनावमा आउला?

काठमाडौं ।

राष्ट्रिय जनता पार्टीले दल दर्ताको प्रक्रिया सुरु गरेको छ। गत बैशाख ७ गते ६ वटा दल मिलेर एकीकृत भएको राजपा अहिलेसम्म संविधान संशोधनलाई नै ‘इस्यू’ बनाएर दल दर्ता नगरी बसिरहेको थियो।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनका लागि मधेस झर्ने प्रस्ताव पार्टी बैठकमा आएको थियो। तर, बैठक रोकेर अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री भेट्न पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि राजपा चुनावी तयारीमा जुट्न दल दर्तामा जान लागेको हो।
‘अध्यक्ष मण्डलका तर्फबाट महन्थ ठाकुरजीले प्रधानमन्त्रीसँग संविधान संशोधन हुन्छ-हुँदैन, शहीद घोषणा गर्ने काम तत्काल हुन्छ-हुँदैन, राजनीतिक पूर्वाग्रहमा लगाइएका झुठा मुद्धा फिर्ता हुन्छन्-हुँदैनन र घाइतेले उपचार खर्च पाउँछन् पाउँदैनन्? भन्ने विषयमा कुरा गर्दा सकारात्मक जवाफ पाएको बताउनुभयो,’ राजपाका नेता केशव झाले महन्थको ब्रिफिङ उदृत गर्दै भने, ‘प्रधानमन्त्रीले चाँडै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने र अन्य विषय पनि अघि बढ्ने तर राजपाको पनि सहयोग आवश्यक हुने बताउनुभएको छ।’
उनले प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भएकै कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा राजपा नपुगेको बताए।
‘आजै दलका दोस्रो-तेस्रो तहका नेताहरुसहितको बैठक बोलाइएको छ,’ झाले भने, ‘बैठकपछि दलको विधानलाई अन्तिम रुप दिएर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाइने छ।’
विधान मस्यौदा निर्माणका लागि तमलोपाले एकतासँगै छ सदस्यीय समितिलाई जिम्मा दिएको थियो। विधानको मस्यौदा राजपा नेताहरु वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्णलगायतले पारेका हुन्। विधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा अध्यक्ष मण्डलका नेताहरुले धेरैपटक छलफल गरी अन्तिम रुप दिएका छन्।
बैठकमा नेताहरुले विधानमा हस्ताक्षर गरेपछि आयोगमा दर्ताका लागि जाने टिम आजै निर्वाचन आयोग पुगेर दर्ता प्रक्रिया अघि बढाउने छ।
 राजपा दल दर्तामा गएसँगै तेस्रो चरणका लागि आगामी असोज २ गते तोकिएको स्थानीय तह निर्वाचनको माहोल फरक बन्ने भएको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.