आधा दर्जन बैंकलाई मर्जर तथा प्राप्तिका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति

प्रभु र सेन्चुरी पाइपलाइनमा

नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकहरुलाई मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिएको छ । मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंक पुगेकामध्ये ६ वाणिज्य बैंकले सैद्धान्तिक स्वीकृति पाएका हुन् । स्वीकृति पाउनेमा हिमालयन बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक छन् ।

हिमालयन बैंक र सिभिल बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले गत साउन २५ गते सैद्धान्तिक स्वीकृति दिएको थियो ।

हिमालयन बैंक र सिभिल बैंकले गत असार २९ गते मर्जर सम्झौता गरेका थिए । सम्झौतापत्रअनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन् ।

१००ः८१ को सेयर अनुपातमा हिमालयन र सिभिल बैंकबीच मर्जर हुन लागेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ ।

यस्तै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई पनि राष्ट्र बैंकले मर्जर को सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । केही समयअघि मात्रै राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको हो । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबिच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।

मर्जरपछिको बैंक ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष) नै रहनेछन । यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको छ ।

त्यस्तै राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई भने गत असार २२ गते नै उक्त स्वीकृती दिएको थियो । नेपाल इन्भेष्टमेन्ट र मेगाले गत जेठ २७ गते मर्जर सम्झौता गरेका थिए । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको थियो । बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको छ ।

यस्तै गत साउन १५ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु र सेञ्चुरी बैंकले भने नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाउन बाँकी छ । प्रभु बैंक र सेन्चुरी कर्मसियल बैंक पनि मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृतिको पाइपलाइनमा छन् । दुबै बैंक विच एक बराबर एकको अनुपातमा मर्जरको सहमति भएको हो । मर्जर पछि बैंकको नाम प्रभु बैंक र रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुनेछन् भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति भएको छ ।

सैद्धान्तिक स्वीकृति पाएका बैंकहरुले ३ महिनाभित्रै अन्तिम स्वीकृतिका लागि प्रक्रिया पूरा गरेर राष्ट्र बैंकमा कागजात पेस गर्नुपर्नेछ । मर्जर प्रकृयामा रहेका बैंकहरुले सबै काम सकेर चाडैँ नै एकिकृत कारोबार गर्नेगरी तयारी गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.