इलेप खोला जलविद्युत आयोजनाको खरिद-बिक्री सम्झौता हस्ताक्षर

काठमाडौं ।

धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवर्द्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम -१६ मंसिर(१५ जेठ) र वर्षायाम -१६ जेठ(१५ मंसिर)मा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । आयोजनाले वाषिर्क ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि -स्कालेसन) पाउने छ । आयोजनाबाट वाषिर्करुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिक रुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिसूली ३बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.