उद्योग बाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना

देशभरीका उद्योगी ब्यवशायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको भावी नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना बढेको छ ।

मंसीर ११–१३ मा काठमाडौंमा हुने ५४ औं साधारण सभाबाट बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्दैछन् । उनको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बन्नका लागि दुई उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधान चुनावी मैदानमा उत्रिएका छन् । तर निर्वाचनका लागि तीन साता पनि बाँकी नहुँदा महासंघका पूर्व अध्यक्षहरु यसपटक जसरी पनि सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रयत्नमा लागेका छन् । 

अन्तिम समयमा सर्वसम्मति हुने सम्भावना रहेपनि वरिष्ठ उपाध्यक्ष पदका दुबै प्रत्यासी यतिबेला देशब्यापी चुनावी दौडाहामा निस्किएका छन् । उपाध्यक्ष ढकाल बुटवल र पोखराका सभाहरुमा ब्यस्त भैरहँदा बिराटनगर पृष्ठभूमिका प्रधान जनकपुरतिरको कार्यक्रममा ब्यस्त छन् । दुबैजनालाई महासंघका केही पूर्व अध्यक्षहरुको समर्थन रहेको छ ।
ढकाललाई पूर्व अध्यक्षहरु कुशकुमार जोशी,प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकालसहितको समर्थन छ भने प्रधानलाई बर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारकालगायतको समर्थन छ । 

बर्तमान वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने र महासंघमा अध्यक्ष हुने ब्यक्तिले सबैलाई मिलाएर लैजानुपर्ने हुँदा सर्वसम्मत नै चयन गर्नुपर्नेमा पूर्व अध्यक्षहरुले जोड दिन थालेका छन् । यसपटक कोरोना भाइरसको संक्रमण जोखिमका कारण पनि चुनावी भीडभाड बढाउनुभन्दा सर्वसम्मत रुपमा नै वरिष्ठ उपाध्यक्ष चयनमा दुबै पक्षका समर्थक पूर्व अध्यक्षहरु लागि परेका छन् । 

खासगरी उम्मेद्वारी मनोनयनसम्म नै प्रधानको साथमा देखा परेकी बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छा पनि सकेसम्म सर्व सहमतिमा वरिष्ठ उपाध्यक्ष छान्नुपर्ने पक्षमा खुल्न थालेको उनीहरुनिकट उद्योगी ब्यवशायी बताउँछन् । उता ढकालको समर्थनमा शुरुदेखि नै खुलेर लागेका कुशकुमार जोशी पनि महासंघ र उम्मेद्वारहरुका लागि समेत यसपटक सर्वसम्मति गर्नु फाइदा देख्छन् । एकातर्फ कोरोनाले आक्रान्त अर्थक्षेत्र, त्यसमा पनि भीडेर जाँदा भावी चुनौतिहरुको सामना गर्न महासंघको नयाँ नेतृत्वलाई कठीन हुने उनी पक्षीय ब्यवसायीहरुको बुझाई छ । 
 
वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन उनीहरुका दुबै प्यानललाई समेट्नु पर्ने वा भनौं कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ । ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उमेदवारी दिएका छन् । त्यस्तै, प्रधान समूहबाट वस्तुगतमा अञ्जन श्रेष्ठ, जिल्लानगरमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतीले उमेदवारी दिएका छन् । उम्मेद्वारी घोषणा मात्रै भएको अवस्थामा जस्तो सजिलो प्यानलसहित चुनावी प्रक्रिया अघि बढिसकेको बर्तमान समयमा सहज नहुने एकाथरी ब्यापारीको विश्लेशण छ । तर दुबै उम्मेद्वारका समर्थकहरु नै यसपटक कम्मर कसेर सहमति जुटाउन लागि परेकाले सहमतिका लागि २ साताभन्दा लामो समय पर्याप्त हुने एक पूर्व अध्यक्ष बताउँछन् ।  

त्यसो त आ–आफ्ना समर्थक पूर्व अग्रजहरुसंग ढकाल र प्रधान दुबैले सर्वसम्मतिका लागि ग्रीन सिग्नल दिइसकेका छन् । उनीहरुकै लचकताका आधारमा पूर्व अध्यक्षहरुले सर्वसम्मत नेतृत्वको अभियान शुरु गरेको बताइन्छ । 

सर्वसम्मतिमा पनि आ–आफ्नै दावी
तर सर्वसम्मत चयन हुन आफू नै बढी योग्य रहेको दुबै पक्षको दावी छ । महासंघमा लामो समय आवद्ध भएको अनुभवका कारण आफ्ना नाममा सहमति हुनेमा प्रधान पक्ष आशावादी देखिन्छ । तर यदि त्यसो हुनै सकेन भने पनि सर्वसम्मतिका लागि प्रधान समूह केही लचिलो देखिएको छ । प्रधानले अर्को कार्यकाल आफूलाई जिताउने विश्वसनीय आधार प्रस्तुत गर्नसके अर्को पक्षलाई सघाउनसक्ने उनीनिकट एक ब्यवशायी बताउँछन् । ती ब्यवशायीले टिभी अन्नपूर्णसंग भने–“सबैको चाहना त्यही छ र अर्को पक्ष पनि सहमतिका लागि जिम्मेवार बनेर आउँछ भने हामी सर्वसम्मतिको बाधक बन्दैनौं ।”   

उता ढकाल पक्ष भने आफ्नो जीत सुनिश्चित भैसकेको बताउँदै आएको छ । सानादेखि ठूलासम्म सबै तह र वर्गका ब्यापरीहरुसंग आफ्नो राम्रो सम्बन्ध र समन्वय रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष आफूले जित्ने ढकाल पक्षको तर्क छ । तर सर्वसम्मति हुन सके त्यो अझै राम्रो हुने यो पक्ष पनि नकार्दैन ।

हाल किशोर प्रधानलाई साथ दिइरहेका भवानी राणा र शेखर गोल्छाहरु नै सर्वसम्मतिको पक्षमा देखिएकाले उनीहरुले यसपटकलाई ढकाललाई छोडिदिएर अर्को कार्यकालको जीत सुनिश्चित गर्न प्रधानलाई मनाउन सक्ने महासंघ श्रोतको दावी छ ।   त्यही बुझेका ढकालका समर्थक पूर्व अध्यक्ष जोशी लगायतले सर्वसम्मतिको लबिङलाई तीव्र बनाइरहेका छन् । तिहारसम्ममा एउटा निष्कर्षमा पु-याउने उनीहरुको जोडबल छ । जे होस्, कोरोना कहरले पाठ सिकाएरै भएपनि कहिल्यै मिल्न नसकेका उद्योगी नेताहरुएकठाउँमा आए भने त्यो केही दिनमा अध्यक्षको कुर्सीमा बस्न लागेका गोल्छा मात्र हैन, नेपालको समग्र ब्यवशायिक क्षेत्रका लागि नै सकारात्मक सन्देश हुनेछ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.