उपल्लो डोल्पा: तीन महिनामा सबै विकास गर्नुपर्ने बाध्यता

डोल्पा ।  चिसो मौसम कारण उपल्लो डोल्पा छोडेका सर्वसाधारण तथा कर्मचारीहरू फर्किएपछि उपल्लो डोल्पामा विकास निर्माणका कामहरु सूचारु भएका छन् । सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताए  ।

न्यौपानेका अनुसारका नयाँ आएका कर्मचारीदेखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकाले अहिले काम तीव्र रुपमा अघि बढेको छ । पालिकामा विकास निर्माणको अनुगमण तथा निरीक्षण हुनुका साथै केही योजनाको भुक्तानी दिने कामसमेत भएको उनले बताए ।  मंसिरदेखि चैतको पहिलो हप्तासम्म उपल्लो डोल्पामा विकास निर्माणका काम ठप्प हुँदै आएका छन् । चिसो मौसमका साथै हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नभएपछि विकास निर्माणका कामहरु रोकिने गरेका हुन् ।

सो समयमा विकास निर्माणका कामका साथै खोप सेवासमेत उपल्लो डोल्पामा प्रभावित हुने गरेको छ । अहिले पनि पालिकामा जानका लागि अग्ला–अग्ला भारी हिउँ भएका हिमाल काटेर जानुपरेको कर्मचारीहरु बताउँछन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा समेत विकास निर्माणका कामहरुलाई तीव्रता दिने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए । उनले केही योजनामा बजेट थप्नका लागि जनप्रतिनिधिहरु संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी सुर्खेतलगायतका ठाउँमा समेत गएर फर्केने क्रम्मा रहेको बताए ।

डोल्पोबुद्ध गाउँपालिकामा दुनै ल्यासिक्याप सडक निर्माणमा ढिला हुँदा दैनिक निर्माणका सामग्रीहरु लिन मुस्किल हुने गरेको छ । आन्तरिक आम्दानी अत्यन्तै कम रहेको डोल्पोबुद्धमा खानेपानी, सिँचाइ, भौतिक संरचना निर्माणमा समेत समस्या हुँदै आएको छ । विकास निर्माणका सामग्री ढुवानी गर्दा सामग्रीको मूल्य भन्दा ढुवानी भाडा बढी लाग्ने भएकाले तोकिएको मापदण्डमा काम गर्न यहाँ चुनौती हुँदै आएको छ । सडक सञ्जालसँग नजोडिएका कारण यहाँ सबै सामग्री पाउन मुस्किल भएको छ ।

यहाँका सर्वसाधारणको आम्दानीको स्रोत भनेको स्थानीय रुपमा उत्पादन हुने जडीबुटी हो । जडीबुटी बिक्री गरेर दैनिक घर व्यवहार चलाउनुपर्ने हुन्छ । कर्मचारीहरु कार्यक्षेत्रमा खटिन समेत मुस्किल रहँदै आएको छ । स्थानीय भाषा, संस्कार र शैली कर्मचारीसँग नमिल्दा यहाँ कार्यरत कर्मचारीहरु स्थानीय संस्कारमा रुपान्तरण हुन समय लाग्ने गरेको छ । नेपाली भाषा भन्दा पनि स्थानीय मातृभाषा यहाँका सर्वसाधारणले बढी बोल्ने भएकाले पनि दोहोरो संवाद हुन कठिन हुने गरेको छ ।

डोल्पोबुद्धलगायत छार्काताङसुङ गाउँपालिकामा समेत विकास निर्माणदेखि भाषा अनि विकटता एकै खालको रहँदै आएको छ । पानी पर्न लाग्दा आकाशबाट हिउँ पर्ने भएकाले दैनिक कामहरु गर्न चुनौती हुँदै गरेको छ । विकास निर्माणसँगै जडिबुटीको सिजन भएकाले अब सबै काम सँगसँगै हुने गरेको छ । डोल्पोबुद्धमा मुस्ताङ हुँदै पनि जान सकिन्छ । आफ्नै उत्पादनले १२ महिना खाना नपुग्ने भएकाले आयातित अन्नमा यहाँका सर्वसाधारणहरु बाँच्नुपर्ने बाध्यता रहेको छ ।

भेरी करिडोर निर्माण भएमा मात्र यहाँका सर्वसाधाण सडकको पहुँचमा पुग्ने देखिन्छ । सदरमुकाम दुनैबाट सात दिनसम्म हिँडेर उपल्लो डोल्पाका विभिन्न गाउँमा पुग्न सकिन्छ । छरिएर रहेका साना–साना बस्ती भएका कारण एक गाउँबाट अर्को गाउँमा जान एकदेखि दुई दिनसम्म लाग्ने गरेको शे–फोक्सुण्डो गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी मनिका कँडेलले बताइन् । पहिलेको भन्दा अहिले अहिले पछिल्लो समयमा स्वास्थ्य संस्थामा बिरामीसमेत आउने गरेको उनकाे भनाइ छ ।

तीन महिनामा सबै विकासको काम पूरा गर्नुपर्ने

उपल्लो डोल्पामा तीन पालिकामा वैशाखदेखि असारसम्म सबै खालका विकास निर्माणका कामहरु पूरा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । चिसो मौसमका कारण अगाडीदेखि विकास निर्माणका कामहरु सुरु हुन नसकेका कारण चैतदेखि सर्वसाधारण जम्मा भएर वैशाखदेखि असारसम्म सबै काम पूरा हुने गरेका छन् । योजनाको रकम भुक्तानी दिनका लागि यहाँका पालिकामा समस्य हुने गरेको छ ।

सदरमुकाम दुनैमा धाउनु पर्दा समस्य हुने गरेको हो । प्रदेश तथा संघबाट प्राप्त योजनाहरुको भुक्तानी लिन सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ । पालिकाको भुक्तानी लिन कम समस्य भएपनि संघ र प्रदेशको लिन भने दुनै नै आउने परेको हो । भुक्तानी लिन आउन र जान मात्र धेरै समय लाग्ने भएकाले अधिकांश रकम बाटोमै सकिने गरेको छ । १२ महिनामा आधा समय उपल्लो डोल्पाका लागि विश्रामको समय रहँदै आएको छ ।

उपल्लो डोल्पालाई हेर्ने दृष्टिकोण राम्रो नभएको यहाँका जनप्रतिनिधिले बताउँदै आएका छन् । आफूहरु उपल्लो डोल्पामा मात्र बस्ने नभइ सीमा रक्षकसमेत भएको उनीहरुको दाबी छ । चीनको सिमानामा बसोबास रहेका कारण उनीहरुले सीमा रक्षकको काम गरिरहेको बताएका हुन् । उच्च हिमाली हावापानी तथा भिन्न खालको संस्कार, संस्कृति भएकाले आफूहरुलाई राज्यले छुट्टै रुपमा हेर्नुपर्ने बताउँदै आएका छन् ।

यहाँको संस्कार, संस्कृति छिमेकी मुलुक चीनसँग मिल्ने गर्दछ । उपल्लो डोल्पामा लाग्ने १२ वर्षे मेलाको तयारीका लागि यहाँका सर्वसाधारण सक्रिय भएका छन् । आकाशमा बादल देखिन बित्तिकै मौसममा समस्य आउने यहाँ बस्न निकै कठिन रहेको छ । १२औं शताब्दीमा निर्माण गरिएको शे–गुम्ब, शे–फोक्सुण्डो ताल, हिउँ चितुवा, जीडबुटी भारी मात्रामा रहेका गुम्बा, दर्जनौ हिमालले यहाँको पहिचान फरक बनाएपनि राज्यले लगानी कम गर्दा आफूहरु मर्कामा पर्दै आएको उपल्लो डोल्पावासीको गुनासो छ ।

डोल्पोबुद्ध गाउँपलिकाले प्रदेश र संघ सरकारको सहयोगमा सबै वडाहरुमा सडक निर्माण गरेको बताएको छ । एक घर एक खानेपानीको कार्यक्रम लागू गरी पालिकाको वडा नम्बर १, ६ मा सञ्चालन चालू अवस्थामा रहेको छ भने अन्य वडाहरुमा समेत अर्को आर्थिक वर्षदेखि कामको सुरुवात हुने अधिकृत देवकोटाले बताए । पलिकाको २, ३ र ५ नम्वरमा वडा कार्यालय निर्माण कार्य सम्पन्न भइसकेको भने १, ४ र ६ निर्माणधिण अवस्थामा रहेको देवकोटाले बताए ।

२ नम्बर वडाबाहेक अन्य वडामा मोवाइल टावरले काम गरिरहेको उनले बताए । पालिकामा विद्युतीकरण गर्नका लागि वैकल्पिक उर्जा प्रवद्धन केन्द्रमार्फत अध्ययनका काम भइरहेको छ । छार्काबाट मुस्ताङ जाने र आउने सडकको काम भइरहेको बताएको छ । पालिका भित्रका सबै वडामा कच्ची सडक निर्माण भएकाले अब स्तरोन्नतीका कामहरु सुरु गर्ने तयारीमा रहेको उनले बताए । ६ वटा सिँचाइका योजनाहरु निर्माण कार्य जारी रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.