करिब ९ महिनापछि नेपाल-भारत हवाई उडान सुचारु हुने

बन्द भएको करिब ९ महिनापछि नेपाल भारत हवाई उडान सुचारु हुने भएको छ ।

नेपाल भारत उडान सुचारु गर्न मन्त्रीपरिषदको मंसिर १० गतेको बैठकले स्वीकृति दिइसकेको र चाँडै उडानको मिति टुंगो लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार मन्त्रीपरिषद बैठकको निर्णयबारे मन्त्रालयमा जानकारी आइसकेको छ र आवश्यक तयारी थाल्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई समेत पत्र पठाइसकेको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार श्रेत्रीले दैनिक दुईवटा उडान हुने गरी तयारी थाल्न मन्त्रालयबाट निर्देशन प्राप्त भएको पुष्टि गरे । उनका अनुसार नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउनेगरी नेपाल भारत हवाइ उडानको तयारी थालिएको छ ।

कोरोना संक्रमण तीव्र भएसँगै नेपाल सरकारले चैतदेखि लकडाउन घोषणा गरेको थियो । सोही बेलादेखि नेपाल भारत उडान समेत बन्द अवस्थामा छ ।

तर, बीचमा अन्तराष्टिय हवाई उडान अन्तर्गत विभिन्न मुलुकका लागि उडान सुचारु भए पनि भारतमा चाहि हुन सकेको थिएन । भारतले एयर बबलमार्फत उडान सुचारु गर्न तीन महिनाअघि नै नेपाल सरकारलाई पत्र पठाएको थियो । नेपाल सरकारले भने बल्ल उडान सुचारुको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतको नियामक निकायसँग ‘एयर बबल’ स्वरुपमा हवाइ उडान गर्न दिने नेपाल सरकारको औपचारिक निर्णयबारे जानकारी गराइने र भारत सरकारले तोकेको विमान कम्पनीले नेपालमा उडान भर्न थाल्नेछ । यो विषय टुंगो लागेपछि मात्रै नेपाल भारत उडान तालिका प्राधिकरणले सार्वजनिक गर्नेछ ।

नेपालबाट भने नेपाल एयरलाइन्सले दिल्ली उडान भर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.