क्युआरकोड भुक्तानी कति प्रभावकारी? गभर्नर अधिकारीले सुरु गरे अभियाननै, मन्दिरको भेटीसम्म

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्युआर कोड’ भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्। 

उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रबारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्।

‘क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं,’ कालिमाटी तरकारी बजारमा भेटिएका गभर्नरले बिजमाण्डूसँग थोरै कुरा गर्दै भने, ‘हेर्दै जाउँ, आउँदो एक वर्षभित्र देशभरका तरकारी बजारमा पुर्‍याउन सकियो भने ठूलो उपलब्धि हुनेछ।’

क्युआर भुक्तानी गर्दा विदेशमा कुनै पनि पैसा जाँदैन। अर्थात भिसा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनु पर्छ। त्यही भएर पनि गभर्नर यसका लागि उत्साहित देखिएका हुन्।

त्यही भएर गभर्नर अधिकारी कहिले मन्दिरको भेटी क्युआर कोडबाट भुक्तानी गरिरहेको भेटिन्छन् भने कहिले टेम्पो भाडा पनि त्यसैगरी तिरिरहेको देखिन्छन्। 

गभर्नर अधिकारीले आइतबार चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै क्युआर कोड लगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरे। यसबाहेक विद्युतीय कारोबार प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था मिलाएका छन्।

करिब डेढ महिनाअघि निजी क्षेत्रले तयार पारेको पुर्वाधारलाई गभर्नरले उपयोग गर्न बैंकहरुलाई हौस्याइरहेका छन्। नेपाल राष्ट्र बैंकको अग्रसरतामा वाणिज्य बैंकहरुले राजधानीका ठूला तरकारी तथा फलफूल बजारबाट क्यूआर कोड भुक्तानी संचालनमा ल्याए। त्यसयता छोटो समयमै यसको प्रयोगतर्फ आकर्षण बढेको यो सेवा राख्ने व्यापारी र सेवा प्रदायक बैंकरहरुको भनाइ छ।

गत पुस १० मा अधिकारीले नक्साल तरकारी तथा फलफूल बजार पुगेर क्यूआर कोडबाट भुक्तानी सेवा शुभारम्भ गरेका थिए। यसअघि पनि विभिन्न किसिमका खुद्रा व्यापार आउटलेटहरुका साथै होटल तथा रेस्टुरेन्टहरुले पनि फाट्टफुट रूपमा क्यूआर कोडबाट भुक्तानी सुविधा संचालनमा नल्याएका होइनन्। तर राज्यस्तरकै सक्रियतामा खुद्रा बजारमा सामुहिक रूपमा क्यूआर कोडबाट भुक्तानी सेवा कार्यान्वयनमा ल्याइएको यो नै पहिलो थियो। 

तरकारी बजारहरुमा नगद कारोबारलाई न्यून गर्दै विद्युतीय भुक्तानी विस्तारमा फोनपे र सानिमा बैंकको सहकार्यमा क्यूआर कोड भुक्तानी सुरु भएको थियो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न बैंकहरुलाई निर्देशन दिएसँगै यसले व्यापकता पाउँदै गएको छ। त्यसैको परिणामस्वरुप पछिल्ला केही हप्तायता प्राय: हरेक शुक्रबारजसो राष्ट्र बैंकका गभर्नरदेखि बैंकका उच्च तहका कर्मचारीहरु समेतको उपस्थितिमा तरकारी तथा फलफूल बजारहरुमा क्यूआर कोड भुक्तानीको थालनी भइरहेका छन्।

त्यही सिलसिलामा नक्सालपछि गत पुस २४ मा प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गर्‍यो। माघ १६ मा नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा थाल्यो । माघ २१ मा माछापुच्छ्रे बैंकले पनि राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको थियो। 

यी सबै तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारी उपस्थित मात्र भएनन्, व्यापारी र उपभोक्ता दुवैलाई यसतर्फ प्रोत्साहित गर्न उनले प्रत्येकपटक उद्घाटनमा जाँदा तरकारी तथा फलफूल खरिद गरेर क्यूआर कोडबाट त्यसको भुक्तानी गरेका छन्। तरकारी बजारभित्रको चिया पसलमा चिया खाएपछि त्यसको भुक्तानी समेत उनले क्यूआर स्क्यान गरेरै गरे।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले बैंकहरुले सेवा सुरु गरेका स्थानहरुमा क्यूआर कोडबाट हुने भुक्तानी बढ्ने क्रममा रहेको बताए। एकैपटकमा यसको प्रयोग नबढ्ने भएकाले उपभोक्ताहरुको बानी विस्तारै नगदरहित कारोबारमा बढ्दै जाने उनको विश्वास छ। 

‘अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्दा तरकारी तथा फलफूल बजारसँगै अन्य व्यापारिक कारोबारमा क्यूआर कोडको प्रयोग बढ्दै जाने अवस्था छ,’ उनले भने, ‘बैंकर्स संघले अझै आक्रामक रूपमा क्यूआर कोड भुक्तानीको दायरा बढाउँदै लैजाने छ।’

भर्खर मात्रै क्यूआर कोड सेवा सुरु भएकाले आगामी दिनमा यसको प्रयोग बढ्दै जाने तरकारी तथा फलफूल बजार सञ्चालकहरुको भनाइ छ। यसका लागि बजारमा रहेका सबै व्यापारीहरुले क्यूआर कोड राख्ने वातावरण सरोकार संस्थाहरुले बनाउँदै लैजानुपर्ने उनीहरु बताउँछन् ।

यस्तै, तरकारी तथा फलफूल बजारका सबै व्यापारीहरुले क्यूआर कोड भुक्तानी सेवा प्रयोगमा ल्याए यसको प्रभावकारितासँगै लोकप्रिय भुक्तानी माध्यम बन्न सक्ने व्यापारीहरुको भनाइ छ।  

तर, थोक बजारका व्यापारीहरुले बढी मात्रामा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेपनि खुद्रा व्यापारीहरुले यसलाई प्रयोगमा नल्याउँदा केही बजारहरुमा यसको प्रभावकारिता नहुने उपभोक्ताहरुको गुनासो छ। 

उपभोक्ताहरुले बजारबाट किन्ने तरकारी तथा फलफूलको भुक्तानी क्यूआर कोडबाट गर्ने क्रम विस्तारै बढ्दै गएको कालिमाटी तरकारी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए। खुद्रा बजारमा भर्खरभर्खरै मात्र सुरु भएको विद्युतीय भुक्तानीमा अभ्यस्त भइरहेका ग्राहकले तरकारी किन्दा क्यूआर प्रयोग गर्ने गरेको उनले बताए। 

कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने देखेर भोलिका दिनमा यो अन्यत्र पनि विस्तार तथा प्रभावकारी बन्दै जाने प्रतिक्रिया व्यापारीहरुले दिएको श्रेष्ठले बताए। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.