क्रेडिट कार्डबाट नगद झिक्नेलाई बैंकहरुको चेतावनीयुक्त सन्देश, १० प्रतिशत बढी निकाले ‘ब्लक’

काठमाडौं । समस्यामा परेका उद्यमी÷व्यवसायीले बैंकको ब्याज तथा सरकारलाई कर बुझाउन क्रेडिट कार्डबाट नगद झिक्न थालेपछि बैंकहरुले कडाइ गरेका छन् ।

बैंकहरुले क्रेडिट कार्डधारीलाई मोबाइलमा सन्देश पठाउँदै क्रेडिट कार्ड सीमाको अधिकतम १० प्रतिशतभन्दा बढी रकम झिके कार्ड नै ब्लक गरिदिने चेतावनीयुक्त सन्देश पठाएका छन् ।

पछिल्लो समय क्रेडिट कार्डबाट पर्याप्त नगद झिक्न थालेपछि बैंकरहरु केन्द्रीय बैंकसँग गुहार माग्न पुगेका थिए । राष्ट्र बैंकका अधिकारीहरुले बैंकरहरुलाई क्रेडिट कार्डबाट पैसा झिक्ने क्रमलाई तत्काल रोक्न उपयुक्त कदम चाल्न मौखिक निर्देशन दिएपछि बैंकहरुले क्रेडिट कार्डधारीलाई तोकिएको सीमाभन्दा बढी रकम निकाले तत्काल कार्ड नै ब्लक गरिदिने सन्देश पठाएका हुन् ।

खासगरी, कोरोनाबाट थलिएका साना व्यवसायीलाई सरकारले कुनै सुविधा नदिएपछि उनीहरु आफ्नो इज्जत जोगाउन आफूसँग भएको क्रेडिट कार्डको अधिकतम प्रयोग गर्न थालेका थिए । तर, बैंकहरुको सन्देश सँगै व्यवसायीहरु थप अप्ठयारोमा पर्ने देखिएको छ ।

बैंकमा चरम तरलता अभाव भएपछि नयाँ ऋण दिएका छैनन् । विगतमा व्यवसायीले बैंकहरुबाट ऋण लिएर राज्यलाई कर र बैंकको ब्याज तिर्थे । बैंकबाट ऋण लिएर कर्जा तिर्ने व्यवस्थाले बैंकहरुको खराब कर्जा घटेको भन्दै आलोचना हुने गरेको थियो । यस विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत बेला बेलामा प्रश्न उठाउने गरेको थियो ।

तर, पछिल्लो समय ठूला र पहुँचवाला व्यवसायीहरुले साँठगाँठमा कर्जाको अधिकतम उपयोग गरे पनि पहुँच नभएका र साना व्यवसायीहरु समस्यामा फस्दै आएका छन् ।

पछिल्लो समय बैंकमा लगानीयोग्य रकमको चरम अभाव भएपछि बैंकहरुले ऋण दिन सकेका छैनन् । त्यसैका कारण साना तथा मझौला व्यवसायीले अन्तिम विकल्पको रुपमा क्रेडिट कार्ड प्रयोग गरेका हुन् । तर, बैंकहरुले धमाधम क्रेडिट कार्डबाट ठूलो रकम बाहिरिएको देखेपछि केन्द्रीय बैंकको साहारा लिएर रोकेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.