खाने तेलमा अस्वाभाविक मूल्य बढाउने दुई उद्योग कारबाहीमा

तीन/तीन लाख जरिवाना

बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारबाही गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा ती उद्योगले अस्वाभाविक मूल्य बढाएको फेला परेपछि कारबाही गरेको हो । उत्पादन मूल्यभन्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) बढी राखेको फेला परेपछि बारामा रहेका महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी र अन्नपूर्ण भेजिटेबल प्रालिलार्ई तीन/तीन लाख रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।
अस्वाभाविक मूल्य लिई उपभोक्ता ठगी गर्ने दुई उद्योगलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको उनले जानकारी दिए । मूल्य विश्लेषण गर्दा अस्वाभाविक मूल्य बढेको फेला परेपछि कारबाही गरिएको विभागले जानकारी दिएको छ । ती उद्योगलाई तत्काल मूल्य सच्याउनसमेत निर्देशन दिएको विभागले जानकारी दिएको छ । उद्योगले लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था छ । ती उद्योगले लागत मूल्यभन्दा अधिकतम खुद्रा मूल्य बढी कायम गरेको पाइएको छ । नियमितरूपमा अनुगमन गरिरहेकाले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठगी गर्ने उद्योगीलाई कारबाही गरिने प्रवक्ता सेढाईंले जानकारी दिए ।
पछिल्लो समय बजारमा व्यवसायीले खाने तेलको मूल्य अस्वाभाविकरूपमा बढेको छ । कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले मनपरिढंगले तेलको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न गएको छ । बजारमा प्रतिलिटरमा २० देखि ४० रुपैयाँ बढेको छ ।
तीन महिनाको अवधिमा खाने तेलको मूल्य लगातार बढिरहेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको छ ।
चाडपर्वपछि लगातार तेलको मूल्य वृद्धि भएपछि सरकारी निकायले समेत तेल उद्योगको प्रज्ञापनपत्र हेरेपछि मूल्य वृद्धि स्वाभाविक भएको जानकारी दिएको छ । कच्चा पदार्थ बढेर आएकाले तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
नेपालको तेल उद्योगलाई चाहिने कच्चा पदार्थ सबै विदेशबाट आयात हुन्छ । नेपालमा उत्पादन हुने तोरीले यहाँको माग धान्दैन । भटमास र सनफ्लावरको खासै उत्पादन नहुने भएकाले पूरै विदेशमै निर्भर हुनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्ने भएकाले त्यहाँ हुने मूल्य घटबढले त्यसको प्रत्यक्ष प्रभाव यहाँ प्रशोधन हुने तेलमा पर्छ ।
व्यवसायीका अनुसार तीन महिनाको अवधिमा भारतमा तोरीको दाना टनको १ हजार ४ सय ४० रुपैयाँ (९ सय भारु) बढिसकेको छ । भारतमा तीन महिना अघिसम्म टनको ५३ सय भारुमा तोरीको दाना पाइने गरेकोमा अहिले बढेर ६२ सय भारु पुगेको छ । बजारमा व्यवसायीले तेलमा अस्वाभाविक मूल्य वृद्धि गरेर उपभोक्ता ठग्दा पनि सरकारी निकाय मौन रहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीले तेलमा फरक फरक मूल्य लिई उपभोक्ता ठगिरहेको उपभोक्ताको गुनासो छ । बाहिरबाट तेलको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.