गलत डिजाइनका कारण जबदीघाट पुल क्षति भएको दाबी

काठमाडौँ ।

नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले ‘वेल फाउन्डेसन’ बनाउनुपर्ने लिखित सुझाव दिएकामा सडक डिभिजन कार्यालय नेपालगन्जले नमानेको जानकारी गराइयो ।

महासंघका कावा अध्यक्ष विष्णुभाई श्रेष्ठले ‘वेल फाउन्डेसन’ मा बनेका पुललगायत संरचनामा केही नभएको बताउँदै बर्दिया जबदीघाटको पुल ‘पाइल फाउन्डेसन’ मा बनाउने डिजाइन गरेकाले क्षतिग्रस्त बनेको सुनाए ।

कन्स्ट्रक्सनका प्रोपाइटर हरिनारायण रौनियारले पुलको संरचनामा केही नभई बाढीका कारण फाउन्डेसन भासिनुले निर्माणको गुणस्तरीयतमाथि प्रश्न गर्न नसकिने दाबी गरे । संरचनाबाट एउटै गिटी नखसेकाले गलत डिजाइनका कारण पुलमा समस्या आएको उनको भनाइ थियो ।

पन्ध्र महिनाअघि निर्माण सम्पन्न भएको पुलको मर्मत सम्भार गर्ने म्याद पनि विसं २०७४ असार २० गते सकियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुलको क्षतिको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेकाले दोषी ठहरे असल नागरिकका नाताले पुलको क्षतिपूर्ति तिर्ने प्रतिबद्धता उनले जनाए ।

सो अवसरमा इन्जिनियर प्रा डा दीपक भट्टराई, महासंघका पूर्वअध्यक्षद्वय जयराम लामिछाने र यक्षध्वज कार्कीले ४२५ मिटरको नदीलाई १०० मिटरमा हिँडाउनु, निर्माण व्यवसायमा आइपर्ने समस्या समाधान नगरिनु नै पूर्वाधारमा क्षति हुने कारण बनेको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.