गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो ।

संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले खरिद गरिएको केही धान बाहिरै राख्नुपरेको खाद्य संस्थान नेपालगञ्जका प्रमुख हरि जोशी बताउनुभयो । अहिले संस्थानमा बाहिर राखिएको सहित ३२ हजार क्विन्टल धान÷चामल ‘स्टक’ रहेको छ । यसरी खुला मैदानमा त्रिपालमुनि राखिएकामध्ये आठ हजार क्विन्टल धानको मात्रै बिमा गरिएको जोशी बताउनुभयो ।

संस्थानले खरिद गरेको धान र कुटाएको चामल राख्न भाडामा गोदाम खोजी गरे पनि हालसम्म पाउन नसकेको जोशीले बताउनुभयो । उक्त चामल र धान पहाडी तथा हिमाली जिल्लामा पठाउन संस्थानमा राखिएको हो । गोदाममा रहेको करीब पाँच हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाइसकिएको छ ।

प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताउँदै अहिले करीब १५ हजार क्विन्टल जापानी चामल आएको जानकारी दिनुभयो । उक्त चामल राख्न दुई गोदाम प्रयोग भएका छन् । एउटामा १० हजार र अर्कोमा पाँच हजार क्विन्टल जापानी चामल राखिएको छ ।

उहाँले भन्नुभयो, “यसले पनि यहाँ खरिद गरिएको धान राख्न समस्या भएको हो ।” संस्थानका तीन गोदाममध्ये दुईमा जापानी चामल छ भने बाँकी एउटा गोदाममा यहाँ खरिद गरिएको केही क्विन्टल धान र कार्यालयका सामग्री थुपारिएको छ । “गोदाम अभावमा खरिद गरिएको धान र चामल गोदाम बाहिरै त्रिपालमुनि राख्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “दिउँसो त्रिपाल निकाल्ने र रातमा त्रिपालले छोप्ने काम चलिरहेको छ ।”

नेपालगञ्जमा धान राख्ने स्थानको समेत अभाव देखिएको छ । यहाँबाट खाद्यान्न पठाउनुपर्ने कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने चामलको अभाव भइरहेको छ । कर्णालीका विभिन्न जिल्ला पठाउनुपर्ने चामलसमेत नेपालगञ्जमै थुपारिएको छ । संस्थानका कार्यालय प्रमुख जोशीले भन्नुभयो, “समस्यै समस्याबीच कर्णालीका केही जिल्लामा थोरै भए पनि चामल ढुवानी भइरहेको छ ।”

उहाँका अनुसार कर्णाली प्रदेशको मागबमोजिम सबै जिल्लामा चामल ढुवानी भने गर्न सकिएको छैन । संस्थानमा रहेको मौज्दात चामल ढुवानी गर्ने र संस्थान परिसरमा त्रिपालमुनि रहेको धान कुटाई सुरक्षित भण्डारणका लागि साल्ट ट्रेडिङको गोदाम माग गरिरहेको कार्यालय प्रमुख जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.