चाँदी आयातमा कडाइसँगै पूर्वको एक गहना उद्योग बन्द, अन्य उद्योग आधाभन्दा कम क्षमतामा

सरकारको पछिल्लो नियमका कारण बजारमा चाँदीको उपलब्धता कम भएसँगै विराटनगरको एक गहना उद्योग बन्द भएको छ भने अन्य दुईले उत्पादनमा आधाभन्दा बढीले कटौती गरेका छन्।

उद्योगको क्षमताअनुसारको चाँदी नपाइएपछि विराटनगरको बालाजी ज्वेलरी बन्द भएको हो। उद्योगले टीबीजे ब्रान्डमा चाँदीका विभिन्न प्रकारका गहना उत्पादन गर्दै आएको थियो।

राष्ट्र बैंकले एक पटकमा ३५ हजार डलर बराबरको एलसी खोल्न पाइने र एलसी खोल्न व्यापारीलेनै शतप्रतिशत पैसा जुटाउनुपर्ने भएपछि चाँदी आयात घटेको छ।

बालाजी ज्वेलरीका सञ्चालक अनिल बर्माले आफ्नो उद्योगले देशभरिका सुनचाँदीका गहना पसललाई गहना आपूर्ति गर्दै आएको जानकारी दिए। उनले आफ्नो उद्योगको मुख्य बजार प्रदेश नम्बर २ का सिरहा र सप्तरी जिल्ला भएको स्पष्ट पारे। उद्योगी बर्माले एक महिनायता आफ्नो उद्योगले मागअनुसारका गहना समयमा तयार गरेर पठाउन नसकेका कारण उत्पादन नै बन्द गर्नुपरेको बताए।

बर्माले उद्योगमा ३० कामदार रहेकोमा हाल सबैलाई छुट्टी दिएर राखिएको उल्लेख गरे। उनले आफ्नो उद्योगले मासिक ३ सय ५० किलो चाँदीको गहना बनाउने गरेको दाबी गरे। ‘मासिक ३ सय ५० किलोको गहना बनाउने भए पनि हामीले कम्तीमा १५ दिनको चाँदी स्टक गर्नैपर्छ,’ बर्माले सुनाए, ‘उद्योगले राखेको १५ दिनको स्टक पनि सकिएको छ। बजारमा भनेजति चाँदी पाइन्न। त्यसैले उद्योग नै बन्द गर्नुको विकल्प देखिएन।’

सुनजस्तै देखिने गहना र चाँदीका सक्कली गहनाको निर्माण गर्दै आएको विराटनगरको अर्को उद्योग क्लासिक गोल्डले पनि आफ्नो उत्पादनलाई ६० प्रतिशतले कटौती गरिसकेको जनाएको छ। जीडी ब्रान्डमा चाँदीका गहना तयार गर्दै आएको क्लासिक गोल्डका सञ्चालक राहुलकुमार साहले उद्योगले पहिले दैनिक ५ किलो चाँदीको गहना तयार गर्दै आएकोमा १ महिनायता २ किलोमा झरेको जानकारी दिए।

‘हामी पहिले दिनको ५ किलो चाँदी खरिद गर्ने गर्थ्यौं। अहिले मुस्किलले २ किलो पाउँछौ र त्यही चाँदीको गहना बनाइरहेका छौं। पैठारीकर्ताले भनेजति आपूर्ति गर्न सकिरहेका छैनन्,’ साहले भने, ‘उद्योगमा पहिले ३५ कामदार थिए भने अहिले १५ जना छन्।’ विराटनगरको सबैभन्दा ठूलो चाँदीका गहना बनाउने उद्योग टेक्नो जया ज्वेलर्सका सञ्चालक दीपक मुन्दडाले सरकारले उद्योगले आफूलाई कच्चा पदार्थका रूपमा आवश्यक पर्ने चाँदीको निर्वाध पैठारी गर्न पाउनु पर्ने माग गरे।

मुन्दडाले उद्योगले गहना बिक्री गरेर त्यसको रकम पाउन २ महिना लागेसँगै चाँदी पनि २ महिना पुग्ने स्टक राख्नुपर्ने बाध्यता रहेको हुँदा ठूलो रकम लगानीमा हुने जिकिर गरे। उनले उद्योग आफैंले चाँदीको पैठारी गरिरहेको बताए।‘

तर अब दुई महिना स्टक राख्नुपर्ने चाँदी शत प्रतिशत मार्जिनमा एलसी खोलेर पैठारी गरेर उद्योग चलाउन सम्भव छैन,’ उनले भने, ‘हामी सिजनमा दैनिक १ सय किलो र अफसिजनमा ५० किलो चाँदीको गहना बनाउँछौं। एकातिर हामीलाई दिनमा न्यूनतम ५० किलो चाँदी चाहिन्छ भने अर्कातिर सरकारले एक पटकमा ४० किलोभन्दा बढी चाँदी पैठारी गर्न नपाइने नियम थोपरिदिएको छ।’

उनले आफ्नो उद्योगले धेरैजसो दुबई र कहिलेकाहीँ हङकङ वा टर्कीबाट चाँदी पैठारी गर्ने गरेको सुनाए। मुन्दडाले एक महिनायता आफ्नो उद्योगले चाँदीको पैठारी नगरेको र भइरहेको मौज्दातबाट काम भइरहेको उल्लेख गरे। उनले नयाँ गहना नपठाइ पुरानो गहनाको रकम उद्योगमा नआउने चर्चा गर्दै सरकारको नयाँ नियमले उत्पादन र व्यापारको सम्पूर्ण चक्रमै असर पुगिरहेको जिकिर गरे।

मुन्दडाले लकडाउनभन्दा पहिले टेक्नो जया ज्वेलर्समा २ सय कामदार रहेकोमा लकडाउनपछि ८० जना मात्र भएको बताए। ‘काठमाडौंमा मात्र चाँदीका गहनामा आश्रित ५ हजार कामदार छन् र देशभरिमा १० हजारभन्दा बढी छन्,’ उनले भने, ‘सरकारले आयातसम्बन्धी निर्णय नसच्याए ठूलो सङ्ख्यामा नागरिक बेरोजगार हुनेछन् भने सरकारले पनि त्यस्तै परिमाणमा राजस्व गुमाउनु पर्ने देखिन्छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.