चिनियाँ नीतिले व्यवसायीको अर्बौं लगानी जोखिममा

ठूलो लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने जोखिम देखिएको छ । सिजन सकिएपछि मात्रै सामग्री नेपाल आइपुग्न थालेपछि बिक्री गर्न नसकिने हुँदा लगानी डुब्ने खतरामा पुगेको हो ।
तातोपानी नाका पुनः सुचारु भए पनि मालवाहक सामग्री नेपालमा अपेक्षाकृत भित्रिएका छैनन् । नेपाली व्यवसायीको दसैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएर बसेको छ । जाडोको सामग्री गर्मीयाममा र गर्मीका सामग्री जाडोयाममा मात्रै तातोपानी नाका हुँदै नेपाल भित्रिने क्रम बढेपछि व्यवसायीको लगानी जोखिममा परेको हो ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सुचारु भए पनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ । नाकाबाट निश्चित संख्यामा मात्रै मालवाहक कन्टेनर नेपाल भित्रिँदा खासामा रहेका सामग्री काठमाण्डौं ल्याउन करिब डेढ महिना लाग्ने भएको हो ।
नेपाली व्यवसायीले दसैंअगावै बिक्री गर्नुपर्ने सामग्री खासामा अड्किएका थिए । चिनियाँ पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुक्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दसैंअघिकै सामान काठमाडौ आइपुग्न ढिलाइ हुने देखिएको हो । व्यवसायीले दसैं र जाडो लक्षित झण्डै एक सय ५० कन्टेनर सामान खासामा ल्याइसकेका छन् । दसैं सकिएको र जाडोसमेत मध्यअवस्थामा आएकले काठमाण्डौं भित्रने सामान विक्री गर्न व्यवसायीलाई कठिनाई हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।
नाका खुलेपनि चीनबाट कन्टेनर निकै कम आएको छ । दसैं अघि सामान आयात गर्ने क्रममा एक कन्टेनर चालकलाई कोरोना पोजेटिभ देखिएपछि बन्द गरिएको नाका पुनः सुचारु गरेको छ दिनमा जम्मा १६ कन्टेनर सामान तातोपानी भन्सार कार्यालय आइपुगेको छ । अहिलेकै गतिमा चीनबाट सामान छाड्ने हो भने खासामा रहेका सामान राजधानी आइपुग्न मात्र डेढ महिना लाग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।
“अहिलेको गतिमा चिनियाँ पक्षले सामान छाड्ने हो भने जाडोका लागि अर्डर गरिएका सामान गर्मी र गर्मीका लागि अर्डर गरिएका सामान जाडोमा आइपुग्छ,” अध्यक्ष श्रेष्ठले भने, “यही आधारमा सामान छाड्ने हो भने व्यवसायीको लगानी डुव्ने खतरा बढ्दै गएको छ ।” खासाका अलावा ल्हासा र सिगात्सेमा रहेका सामान समेत कसरी ल्याउने भन्ने चिन्ताले व्यवसायीलाई सताएको श्रेष्ठ बताउँछन् ।
सरकारले कुटनीतिक पहल नगर्दा व्यवसायीले गरेको लगानी डुव्ने अबस्थामा पुगेको हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्री बताउँछन् । हुन्छ या हुँदैन स्पष्ट जवाफ नआएकै कारण अब हुुुन्छ कि भन्ने आशामा लगानी गरेका व्यवसायी मारमा परेका खत्रीको बुझाइ छ । नेपाल र चीन सरकारको स्पष्ट कुरा नआउँदा व्यवसायीका अर्बौं रुपैयाँका सामग्री चिनियाँ स्टोरमा थन्किएको खत्रीको गुनासो छ ।
चिनियाँ पक्षले खासाबाट दुई वटा चिनियाँ र चारवटा नेपाली गाडी छाड्ने भने पनि पछिल्लो पटक नाका सुचारु भएको छ दिनमा जम्मा १६ गाडी सामान मात्र तातोपानी भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । चिनियाँ पक्षलाई बढी सामान छाड्न आग्रह गरिएको भए पनि ठोस जवाफ नआएको खत्रीको भनाइ छ ।
“मन्त्रालय र ल्हासास्थित महावाणिज्यदूतावासमार्फत खासामा रहेका नेपाली व्यवसायीका सामान छिटो भन्दा छिटो ल्याउन पहल भइरहेको छ,” प्रमुख भन्सार अधिकृत खत्रीले भने, “चिनियाँ पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएका छन्, छिट्टै समस्या सुल्झिन पनि सक्छ ।” चिनियाँ पक्षले सामान छाडे तातोपानी भन्सार कार्यालयमा सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरेर सामान जाँच पासको प्रकृया अपनाइएको खत्रीको दाबी छ । खासा कस्टम र अन्य निकायलाई कम्तिमा दैनिक २० वटा गाडी छाड्न आग्रह गरिएको उनको भनाई छ । खासामा स्टोर भएका सामान क्लियर गरेर थप सामान ल्याउने वातावरण सिर्जना गर्न भन्सार कार्यालय लागिपरेको छ ।
२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तातोपानी नाका व्यवसायीको दबाब र सरकारको कुटनीतिक पहलका कारण २०७६ जेठबाट आंशिक रुपमा सुचारु भएको थियो । आंशिक रुपमा सुचारु रहेकै बेला कोरोना भाइरसको संक्रमण बढेपछि बन्द नाकाबाट बीचमा चीन सरकारले सहयोग गरेका स्वास्थ्य सामग्री ल्याइएको थियो ।
दसैंअघि नाका पुनः सञ्चालन गर्ने प्रकृया सुरु भएपछि व्यवसायीले चीनका विभिन्न स्थानबाट सामान ल्याएर खासामा स्टोर गरेका थिए । दसैंअघि नाका सुचारु भएकै दिन एक नेपाली कन्टेनर चालकमा कोरोना संक्रमण देखिएपछि चिनियापक्षले एकतर्फी रुपमा नाका बन्द गरेका कारण व्यवसायीका करोडौं मूल्यका डेढ सय कन्टेनर सामान खासामै अलपत्र परेको थियो ।
अलपत्र सामान ल्याउन नाका सञ्चालनमा आएपनि औषत तीन गाडीभन्दा बढी सामान ल्याउन नदिएपछि अझै कति समय नेपाली व्यवसायीका सामान खासामा अलपत्र पर्न सक्ने सम्भावना देखिएको छ । यसले लगानी डुब्ने अवस्थामा पुगेकै कारण व्यवसायी चिन्तित छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.