चौधरी ग्रुपले आगामी तीन वर्षमा नेपालभित्र ५० अर्ब लगानी गर्ने

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

चौधरी ग्रुपले नेपालभित्र आगामी तीन वर्षमा करिब ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।  ‘हाल सञ्चालनमा रहेका विभिन्न उद्योग तथा व्यवसायकै विस्तार क्रममा हामी आगामी तीन वर्षमा करिब ५ हजार करोड (५० अर्ब) रुपैयाँ लगानी गर्दैछौं,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यसबाट लगभग साढे दुई हजारभन्दा बढी नयाँ रोजगार सिर्जना हुनेछ।’
नेपालको एक अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले आफ्नो प्रमुख उत्पादन वाइवाइ चाउचाउको विस्तारका अतिरिक्त जलविद्युत, सिमेन्ट, होटल, रियल स्टेट, नयाँ औद्योगिक पार्क लगायत क्षेत्रमा उक्त रकम बराबरको थप लगानी घोषणा गरेको हो।
आगामी तीन वर्षका लागि चौधरी ग्रुपको लगानी विस्तार योजना सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले तीनवर्षे योजनाको प्रारुप घोषणा गरेका थिए।
उनले सबभन्दा पहिला नेपालभित्र वाइवाइ चाउचाउ विस्तारको योजना सुनाए।
नवलपरासीको चौधरी औद्योगिक पार्कभित्र वाइवाइ चाउचाउ उत्पादन विस्तारअन्तर्गत ३० करोड रुपैयाँ थप लगानी गरिनेछ। यसअतिरिक्त पूर्वी क्षेत्रका लागि नयाँ औद्योगिक पार्क निर्माण गर्ने चौधरी ग्रुपको योजना छ। यसका लागि सुनसरीमा जग्गा खरिद भइसकेको छ। त्यहाँ वाइवाइको नयाँ प्लान्ट सञ्चालन गरिनेछ। यसै वर्ष निर्माण सुरु गरी सञ्चालनमा आउने सुनसरी प्लान्टका लागि ५० करोड लगानी हुने कम्पनीले जनाएको छ।
रियो लगायत पेय पदार्थतर्फ नवलपरासी औद्योगिक पार्कभित्र २५ करोड रुपैयाँ लगानी गरिनेछ। ब्रुअरी उत्पादनमा थप सय करोड रुपैयाँ लगानी गरिनेछ। ‘नेपाल आइस’ चौधरी ग्रुपले उत्पादन गर्ने प्रमुख बियर हो।
आफ्ना विभिन्न वस्तुका लागि प्याकेजिङ पनि कम्पनीले आफैं उत्पादन गर्दै आएको छ। यस वर्ष प्याकेजिङ उद्योगमा मात्र कम्पनीले २० करोड रुपैयाँ लगानी गर्दैछ। यो उद्योग नवलपरासी औद्योगिक पार्कभित्रै हुनेछ।
चौधरी ग्रुपले हात हालेको अर्को प्रमुख क्षेत्र सिमेन्ट हो। यसअन्तर्गत पाल्पामा क्लिंकरसहितको सिमेन्ट उद्योग निर्माणाधीन छ। यसमा ८ सय ५० करोड रुपैयाँ लगानी हुनेछ। यसको क्षमता प्रतिदिन १ हजार ९ सय ५० टन हुनेछ। त्यस्तै, दुम्कीबासको चालू सिमेन्ट उद्योगमा पनि यस वर्ष क्षमता विस्तार गरी २ हजार २ सय टन प्रतिदिन पुर्याउने योजना छ। यसका लागि ९५ करोड लगानी गरिँदैछ। चौधरी ग्रुपले उत्पादन गर्ने सिमेन्ट ‘सिजी सिमेन्ट’ हो।
कम्पनीले जलविद्युत क्षेत्रमा पनि काम गर्दै आएको छ। यसअन्तर्गत १५.१ मेगावाट क्षमताको मध्यमोदी निर्माणाधीन छ। हालै दुई किलोमिटरको सुरुङ निर्माण सम्पन्न गरिएको यो आयोजना सन् २०१८ जुन महिनामा सम्पन्न हुनेछ। यसका लागि २ सय ८० करोड रुपैयाँ लगानी हुँदैछ।
त्यस्तै, ४४ मेगावाटको सुपर मादी जलविद्युत परियोजनाको निम्ति सडक निर्माणको काम जारी रहेको कम्पनीले जनाएको छ। सन् २०२१ फेब्रुअरीमा सम्पन्न हुने यो आयोजनामा ७ सय ५० करोड रुपैयाँ लगानी गरिनेछ।

जलविद्युततर्फ स्टोरेज प्रोजेक्टको आयोजनामा पनि काम भइरहेको छ। यसको अनुमानित लगानी १ हजार ७ सय करोड रुपैयाँ छ।
चौधरी ग्रुपले केही वर्षअघि हिमाल हाइड्रो नामक कम्पनी खरिद गरी सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना, २२ मेगावाटको माई, १२ मेगावाटको झिम्रुक, ५.१ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदी जलविद्युत आयोजना सञ्चालित छन्।
नेपालमा पहिलो संयुक्त आवास (हाउजिङ) परियोजना सञ्चालन गरेको चौधरी गुपले यही क्षेत्रमा केही नयाँ योजना पनि घोषणा गरेको छ।
यसअन्तर्गत ललितपुरको पुल्चोकमा ‘सिजी–लिजेन्ड’ निर्माण गरिनेछ भने चितवनमा ‘सिजी–ल्यान्डमार्क’ निर्माणाधीन छ। चार लाख वर्गफुटमा निर्माण हुने ‘सिजी–लिजेन्ड’ आयोजनाका लागि करिब ३ सय करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको छ। सन् २०२० जनवरीसम्म सञ्चालनमा ल्याउने उद्देश्य रहेको यो आयोजनाअन्तर्गत ७८ वटा सर्भिस अपार्टमेन्ट निर्माण गरिनेछ। त्यस्तै, मल, होटल, मनोरञ्जन केन्द्रसहितको सिजी ल्यान्डमार्कका लागि २ सय करोड रुपैयाँ लगानी हुनेछ।
आवास योजनातर्फ ललितपुरको बागडोलमा काठमाडौं रेजिडेन्सी सर्भिस अपार्टमेन्ट निर्माणाधीन छ। ५३ वटा कोठाको यो अपार्टमेन्ट सन् २०१९ जुनमा निर्माण पूरा हुनेछ। यसमा ५० करोड रुपैयाँ लगानी हुनेछ।
चौधरी ग्रुपले पछिल्लो समय लगानी विस्तार गरेको क्षेत्र होटल हो।
होटलतर्फ चितवनको मेघौलीमा ताज ग्रुपसँग मिलेर सञ्चालन गरेको ताज मेघौली सरायले अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति प्राप्त गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय पत्रिकाहरूले यो रिसोर्टलाई भ्रमण गर्नैपर्ने सूचीमा समावेश गरेका छन्।
ललितपुरको सानेपास्थित समिट होटल पनि चौधरी ग्रुपले नै सञ्चालन गर्दै आएको छ। लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाएर बसेको यो होटललाई नयाँ ढंगमा पुनर्निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ। ‘अन्तर्राष्ट्रिय स्तरमा समिट होटलको छुट्टै छाप छ,’ निर्वाणले भने, ‘हामी यसलाई पुरानो छवि कायम राख्दै नयाँ ढंगले परिभाषित गर्न खोजिरहेका छौं।’
समिट होटलकै विस्तार क्रममा उच्चकोटीको आरामदायी सेवा खोज्ने पर्यटकका लागि ‘हेरिटज होटल’ सञ्चालन गरिनेछ। सन् २०१९ डिसेम्बरसम्म सञ्चालन गरिने यो आयोजनामा २ सय करोड रुपैयाँ लगानी हुनेछ।
ललितपुरकै झम्सीखेलमा ‘जिंक–सिटी’ ब्रान्डको नयाँ बिजनेस होटल सञ्चालन गर्ने पनि कम्पनीले घोषणा गरेको छ। सेन्ट मेरिज स्कुल अगाडि रहेको यो होटल निर्माणाधीन अवस्थामा छ। एक सय १४ वटा कोठा हुने चारतारे बिजनेस होटलको निर्माण सन् २०१८ जनवरीमा सम्पन्न हुनेछ। यसमा १ सय ५० करोड रुपैयाँ लगानी हुनेछ।
चौधरी ग्रुपले नवलपरासीको हर्कपुरमा आयुर्वेदिक वेलनेस रिसोर्ट पनि सञ्चालन गर्ने भएको छ। ‘पञ्चकर्म वेलनेस सेन्टर’ नामको यो रिसोर्ट हाल निर्माणाधीन छ। यसअन्तर्गत १८ वटा भिला रहनेछन्। सन् २०१९ फेब्रुअरीसम्म निर्माण सम्पन्न हुने यो रिसोर्टको लगानी ५० करोड रुपैयाँ रहेको छ।
चौधरी ग्रुपले घोषणा गरेको यो सम्पूर्ण लगानी हाल निर्माणाधीन अवस्थामा रहेको प्रबन्ध निर्देशक निर्वाणले जानकारी दिए। ‘हामी जुन रूपमा अन्तर्राष्ट्रिय विस्तारमा लागेका छौं, नेपालभित्र पनि त्यही गतिमा विस्तार र थप लगानी भइरहेका छन्,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘जुन पाँच हजार करोड लगानीको हामी कुरा गर्दैछौं, त्यो हाम्रो योजना मात्र होइन, सबैजसो निर्माणाधीन अवस्थामै छन्।’
‘फोर्ब्स’ सूचीकृत एकमात्र नेपाली अर्बपति विनोद चौधरीले यस वर्ष उक्त सूचीमा आफ्नो सम्पत्ति २० करोड डलरले बढाएका छन्। फोर्ब्सले चौधरी ग्रुपको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर रहेको मूल्यांकन गरेको छ। अघिल्लो वर्ष यो १ अर्ब १० करोड डलर थियो।
‘फोर्ब्सले मूल्यांकन गरेको सम्पत्तिको ५० प्रतिशत हिस्सा सधैं नै नेपालभित्रै रहनुपर्छ भन्ने मेरो मान्यता छ,’ चौधरीले भने।
नेपालभित्र लगानी विस्तारको यो योजना त्यसैको एक कडी भएको उनले बताए।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.