जुम कलबाट ९०० कर्मचारीकाे जागिर चैट् पार्ने विशाल गर्ग को हुन् ?

एजेन्सी । घरका लागि ऋण दिने डिजिटल कम्पनी बिटर डटकम का भारतीय मूलका अमेरिकी सीईओ विशाल गर्गले बुधबार एउटा जुम कलमार्फत ९०० कर्मचारीको जागिर चैट् पारिदिए ।

अहिले यो जुम कलको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जागिरबाट निकाल्नुअघि सीईओ गर्गले यो फैसलाका लागि बजारको कार्यक्षमता, प्रदर्शन र उत्पादकको प्रभाव बताए ।

भाइरल बनिरहेको जुम कलमा ४३ वर्षीय गर्ग भनिरहेका छन्, ‘यो एउटा यस्तो खबर हो जसलाई तपाईंहरु सुन्न चाहनुहुन्न । यदि तपाईं यो कलमा हुनुहुन्छ भने अभागी समूहमा हुनुहुन्छ जसलाई बन्द गरिंदैछ । तपाईंहरुको जागिर यहाँबाट सकिन्छ ।

‘यो मेरो फैसला हो । र, मेरै मुखबाट सुन्नुपर्ने थियो तपाईंहरुले । यो फैसला आफैंमा चुनौतीपूर्ण थियो । मेरो जीवनमा यस्तो दोस्रोपटक हुँदैछ । तर, यस्तो गर्न चाहन्नँ । पछिल्लोपटक यस्तो फैसला गर्दा रोएको थिएँ । आशा छ, यसपटक अलि बलियो बन्नेछु ।’

भिडियोमा गर्गले कर्मचारीलाई यसबारे पूर्ण जानकारी इमेलमार्फत मिल्ने बताएका छन् । जति कर्मचारीलाई अहिले निकालिएको छ, ती कम्पनीका कुल कर्मचारीमध्ये ९–१० प्रतिशत भएको बुझिएको छ ।

क्रिसमसपूर्व गर्गले लिएको यो फैसलाले उनको तीव्र आलोचना भइरहेको छ । कम्पनीकै एक कर्मचारीले जुम कल रेकर्ड गरेर सार्वजनिक गरेका थिए ।

को हुन् गर्ग ?

गर्गमाथि पहिले पनि आफ्ना कर्मचारीको अपमान गरेको आरोप लागेको थियो । यसबाहेक आर्थिक हिनामिनाको आरोप पनि । सन् २०१९ मा एउटा पडकास्टमा गर्गले भनेका थिए कि, हाइस्कुल पढदैदेखि उनको झुकाव व्यापारमा थियो । उनले आफ्ना साथीहरुलाई क्लिफनोट्स र अन्य किताब बेचेका थिए ।

सन् २००० मा गर्गले हाइस्कुलका सहपाठी एवम् प्रवासी रजा खानसँग मिलेर एउटा निजी ऋण कम्पनी खोले । त्यसले विद्यार्थीलाई लोन दिन्थ्यो । र, त्यसको नाम थियो, माई रिच अंकल । यसै बेला गर्गले न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजनेसमा भर्ना भए । तर, बीचमै पढाइ हापे ।

अमेरिकामा आर्थिक संकटका बेला माई रिच अंकल कम्पनी चाैपट भयो । त्यसपछि रजा र गर्गले ईआईएफसी नामको नयाँ प्रोजेक्ट सुरु गरे । त्यसले घर मालिकलाई ऋण लिनका लागि ऋणको सर्तबारे बैंकहरुको जानकारी दिन्थ्यो ।

२०१३ मा पुग्दा रजा र गर्गबीच कम्पनीको आर्थिक विषयलाई लिएर खटपट उत्पन्न भयो । गर्गमाथि रजाले कम्पनीको आर्थिक मामिला हेर्ने गर्गले बिजनेस ट्याक्स भरेनन् । साथै ३ करोड डलर कम्पनीबाट सोझै आफ्नो खातमा ट्रान्सफर गरे ।

कुरा यतिमै सकिएन । बदला लिन गर्गले रजामाथि चार लाख डलर चोरीको आरोप लगाए । तर, उनले असत्य भएको भन्दै खारेज गरिन् ।

बेटर डटकम सुरुवात

सन् २०१३ मा गर्गले आफ्नी पत्नीसँग मिलेर बेटर डटकम सुरु गरे । त्यसले घर किन्नका लागि मान्छेलाई डिजिटल लोन दिन्छ ।

नयाँ र तीव्र रुपमा जन्मिएका स्टार्टअप कम्पनीमध्ये यसले पनि आफ्नो ठाउँ बनायो । चर्चा कमायो ।

तर, राम्रैसँग चलिरहेको कम्पनीमा पुनः २०१९ मा आर्थिक अनियमितताको आरोप लाग्यो । हालिया मार्केट रिपोर्ट्सका अनुसार सफ्टबैंकले हालसालै  यो कम्पनीलाई ७५ करोड डलरको फन्डिङ गरेको छ ।

बीबीसीकाे सहयाेगमा ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.