तरलता अभाव र नाफा बुकको असरले सेयर बजार प्रभावित, नेप्से ८० अंकले घट्यो

काठमाडौं । केही दिनदेखि निरन्तर बढेको बजार यो साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । दसैं लगत्तै बैंकहरुले बढाएको ब्याजदरमा राष्ट्र बैंकले लगाम लगाएपछि निरन्तर बढेको सेयर बजार तिहार पछिको दुवै कारोबार दिन घटेको हो ।

खासगरी, यसबीचमा १० निरन्तर बजार बढ्दै ३५० अंक भन्दाको सुधार देखिएको थियो । तिहार लगत्तै लगानीकर्ताहरु नाफा बुक गर्न तम्सिए भने बजारमा तरलता अभावलाई मिसन बनाएर बजार घटाउने अस्त्र प्रहार गरे ।

उता मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउन लागेको र धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई दिएको ओभर ड्राफ्ट कर्जा नियन्त्रण गर्ने हल्लासँगै चलाइएको असर पनि मंगलबारको बजारमा परेको हो ।

बजारमा सामान्य करेक्सन आउनासाथ लगानीकर्तामा आत्मविश्वास गुम्न थालेको देखिन्छ । त्यसैको परिणाम मंगलबार नेप्से निरन्तर घटेर २ बजेर २९ मिनेट जादा २७३१.५ अंकसम्म झर्न पुग्यो । त्यसपछि भने नेप्से केही सुधार हुँदै २७४९.८५ अंकमा कारोबार रोकिएको छ । पछिल्लो आधा घण्टामा नेप्सेमा १८ अंकको सुधार देखिन्छ ।

निरन्तर बजार घटे पनि मंगलबार तेह्रथुप पावर, साहास उर्जा र मानुषी स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लेवलमा कारोबार भएको छ । यसदिन ७ वटा कम्पनीको मूल्यमा वृद्धि देखिएको छ । १७९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यद्यपि, मंगलबार कारोबार रकममा भने सुधार भएको छ । मंगलबार ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसमा सबैभन्दा बढी हिस्सा नबिल बैंकको २९ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ ।

सोमबार घटिरहेको सूचकबाट एकाएक सकारात्मक सर्किट लेवलमा कारोबार भएर बन्द भएका आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा भने कारोबारको सुरुमै नकारात्मक सर्किट लागेर कारोबार भएको छ । बजारमा सोमबार दुई कम्पनीको सेयर मूल्य कसरी बढ्यो भने चर्चा भएको थियो । तर, मंगलबार जसरी बढेको थियो, त्यसैगरी घट्यो ।

घट्ने सूचीहरुमा मिथिला लघुवित्तको सेयर मूल्यमा ७.४२ प्रतिशतको गिरावट देखिएको छ । सोमबार र मंगलबारको कारोबार प्रवृत्ति र लगानीकर्ताको मनोबलमा देखिएको त्रासले बिहीबार पनि बजार प्रभावित हुने सम्भावना छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिन नसक्ने भन्दै हात उठाएपछि सेयर बजारका लगानीकर्ता पनि तर्सिएका छन् । त्यसको प्रभाव पनि बिहीबारको बजारमा पर्न सक्छ । तर, अधिकांशले नाफा बुक गर्ने प्रवृत्ति नदोहोर्याएको खण्डमा बजार केही सुधार हुन सक्छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.