तिहार नजिकिँदै गर्दा १ अर्ब बढीको भाइमसलाका सामग्री आयात

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १ अर्ब १९ करोड २ लाख ६९ हजार रुपैयाँको भाइमसला आयात भएको छ ।

तिहारमा दिदी बहिनीले दाजु भाईलाई सप्तरंगी टीका लगाएर काजु, नरिवल, छोकडा, बदाम, पिस्ता, ओखर दिने चलन रहेको छ । तिहारमा प्रयोग हुने भाइमसलाका सामग्री अधिकांश विदेशबाट आयात हुने गरेको छ ।

यस्ता सामग्रीहरु भारत, चीन, पाकिस्तान, चिली, दुबई, भियतनाम, नाइजेरिया लगायतका देशबाट आयात हुने गरेको छ । नेपालका केही स्थानमा बदाम र ओखर उत्पादन हुने गरेको भएपनि आयात उच्च रहेको छ । नेपालमा उत्पादन हुने वस्तुको उत्पादन प्रयाप्त हुन नसक्दा आयात बढेको तथ्याङकले देखाएको छ ।

भन्सार विभागका अुनसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विभिन्न देशबाट काजु, नरिवल, छोकडा, बदाम, पिस्ता, ओखर आयात भएको छ । विभागका अनुसार यो अवधिमा २९ लाख १० हजार ८८७ किलो अर्थात करिब ३ हजार टन उक्त सामान आयात भएको छ । उक्त सामान आयातहुँदा राज्यले ३५ करोड ५६ लाख १८ हजार रुपैयाँ राजस्व उठाएको छ । विभागका अनुसार यो अवधिमा ८ वटा देशबाट काजू आयात भएको छ ।

दुई महिनाको अवधिमा भारतबाट सबैभन्दा बढी आयात भएको छ । काजू खोल बिनाको ताजा वा सुकेको र खोलसहितको ताजा वा सुकेको आयात हुने गरेको छ । सबैभन्दा बढी भारतबाट आयात भएको छ । २५ करोड २० लाख ३८ हजार रुपैयाँको काजू आयात भएको छ । मोजाम्बिकबाट यो अवधिमा ३ करोड ५२ लाख १४ हजार रुपैयाँको काजू आयात भएको छ ।

विभागका अनुसार भियतनामबाट ८ करोड ४६ लाख ४४ हजार रुपैयाँको, नाइजेरियाबाट २ करोड २८ लाख २२ हजार रुपैयाँको काजू आयात भएको छ भने चीनबाट १५ लाख ६९ हजार, सिंगापुरबाट ९ लाख ४ हजार रुपैयाँको काजू आयात भएको छ ।

विभागका अनुसार दुई महिनाको अवधिमा ३९ करोड ७१ लाख ९५ हजार रुपैयाँको काजू आयातहुँदा ११ करोड ८७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै तीनवटा देशबाट ३८ करोड ५७ लाख ४३ हजार रुपैयाँको बदाम आयात भएको छ । ६ लाख ३१ हजार ६ सय किलो बदाम आयात हुँदा राज्यले ११ करोड ८२ लाख ८६ हजार रुपैयाँ राजस्व पाएको छ । नेपालमा अमेरिका, भारत र अफगानिस्तानबाट बदाम आयात भएको छ । ३८ करोड ४४ लाख ८४ हजार रुपैयाँको बदाम अमेरिकाबाट आयात भएको छ । दोस्रोमा भारत र तेस्रोमा अफगानिस्थान रहेको छ ।

नेपालमा भारत र इन्डोनेसियाबाट १६ करोड ८८ लाख ७९ हजार रुपैयाँको नरिवल आयात भएको छ । विभागका अनुसार ७ लाख ३४ हजार ८६२ किलो नरिवलबाट राज्यले ४ करोड ५९ लाख ४८ हजार रुपैयाँ राजस्य संकलन गरेको छ । भारतबाट १६ करोड ८८ लाख ७७ हजार रुपैयाँको नरिवल आयात भएको छ ।

भदौ मसान्तसम्ममा भारत, अमेरिका, चीनबाट ७१ लाख ८४ हजार रुपैयाँको पिस्ता आयात भएको छ । ६ हजार ७७१ किलो पिस्ताबाट राज्यले २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा सबैभन्दा बढी पिस्ता अमेरिकाबाट आयात भएको छ ।

यस्तै नेपालमा चिली, चीन, भारत र अमेरिकाबाट १९ करोड ४२ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ । यो अवधिमा ६ लाख ६१ हजार ४६० कित्ताले ओखर आयात भएको छ । यो अवधिमा सबैभन्दा बढी चीनबाट १५ करोड ४० लाख ५१ हजार रुपैयाँको ओखर आयात भएको छ । चिलीबाट २ करोड ७३ लाख २३ हजार, अमेरिकाबाट १ करोड २८ लाख ६२ हजार रुपैयाँको ओखर आयात भएको छ ।

नेपालमा छोकडा पनि ४ वटा देशबाट आयात भएको छ । छोकडा आयात हुने देशमा पाकिस्तान, ट्युनिसिया, दुबई, भारतबाट आयात भएको छ । यो अवधिमा ३ करोड ७० लाख २९ हजार रुपैयाँको छोडका आयात भएको छ । नेपालमा सबैभन्दा बढी छोकडा पाकिस्थानबाट आयात भएको छ । २ करोड ४३ लाख ७१ हजार रुपैयाँको छोकडा पाकिस्तानबाट आयात भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.