दोस्रो त्रैमासमा बैंकहरूको बढ्यो नाफा, पहिलोमा ग्लोबल, अरुको यस्तो छ वित्तीय विवरण

काठमाडाैं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन प्रकाशन गरेका छन् ।

पुष मसान्तसम्ममा अधिकांश वाणिज्य बैंक गत वर्षको तुलनामा खुद नाफा बढाउन सफल भएका छन् । अघिल्ला आर्थिक वर्षहरूको तुलनामा नाफाको वृद्धिदर भने घट्दै गएको देखिन्छ ।

प्रभु, प्राइम कमर्सियल, कुमारी र बंगलादेश बैंकको खुद नाफा गत वर्षको ६ महिनाको तुलनामा घटेको छ ।

ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले यस अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी नाफा कमाएकाे हो । गत वर्ष बैंकले २ अर्ब ३१ करोड खुद नाफा गरेको थियो ।

एनआईसी एसिया बैंक २ अर्ब ४० करोड मुनाफा कमाउँदै दोस्रो बढी नाफा गर्ने बैंक बनेको छ । जुन गत वर्षको तुलनामा १७.५७ प्रतिशतले बढी हो ।

यस्तै नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थानमा झरेको छ । गत आर्थिक वर्षमा बैंकले वर्ष २ अर्ब १ करोड नाफा कमाएको थियो । गत वर्षको तुलनामा ८.२३ प्रतिशत बढी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

प्राइम बैंकले भने यस अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकको नाफा ७.३ प्रतिशतले घटेको छ । यस बैंकले गत वर्ष १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड नाफा कमाएको मेघा बैंकले यस वर्षको सोही अवधिमा १ अर्ब ४० करोड नाफा गरेको छ ।

नाफा कमाउनेमा कृषि विकास बैंक पनि रहेकाे छ । बैंकले यस अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रभु बैंकको पनि गत वर्षको पहिलो ६ महिनाको तुलनामा खुद नाफा घटेको छ । प्रभुले यस अवधिमा १ अर्ब २६ करोड नाफा गरेको छ । गत वर्ष यस बैंकले १ अर्ब ५१ नाफा कमाएको थियो ।

सिटिजन्स बैंकले १ अर्ब २३ करोड नाफा गरेको छ । यस बैंकले गत वर्षको तुलनामा करिब ४१ प्रतिशत बढी नाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ८७ करो ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो नाफामा उल्लेखीय सुधार गरेको छ । गत वर्षको तुलनामा ३६ करोड ४० लाख अर्थात् ५०.३७ प्रतिशत बढी नाफा गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब ८ करोड नाफा गरेको छ । गत वर्षको यस अवधिमा भने ७२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकले पुस मसान्तसम्ममा १ अर्ब २ करोड नाफा गरेको छ । तर, बैंकको नाफा गत वर्षको तुलनामा ५ करोड ८० लाख रुपैयाँले घटेको छ । यसले गत वर्षको सोही अवधिमा १ अर्ब ८ करोड नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस बैंकले ८० करोड २७ लाख नाफा गरेको थियो । जुन गत वर्षको तुलनामा करिब २६ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको अर्धवार्षिकसम्म ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको एनसीसी बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ९० करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै नेपाल बंगलादेश बैंकले ८१ करोड ११ लाख नाफा कमाएको छ । यस बैंकको पनि गत वर्षको तुलनामा नाफामा कमी आएको छ । बैंकले गत वर्षको पहिलो ६ महिनामा ९४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल एसबीआई बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षको ६ महिनामा ५१ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

सेन्चुरी बैंकले ७२ करोड २१ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनामा यस बैंकले ३१ करोड २२ लाख रुपैयाँ बढी नाफा गरेको छ । गत वर्ष यस बैंकले ४६ करोड ६५ लाख नाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा करिब ६८ प्रतिशत बढी हो ।

कुमारी बैंकले यस वर्षको अर्धवार्षिकसम्म खुद नाफा ७२ करोड ७८ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यस बैंकले यसै अवधिमा १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । कुमारीकाे खुद नाफा गत वर्षको तुलनामा करिब ४४ प्रतिशतले घटेको छ ।

बैंक अफ काठमान्डुले ७१ करोड ९३ लाख खुद नाफा गरेकामा गत वर्ष ७० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सिभिल बैंकले दोस्रो त्रैमासमा ५० करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा बैंकले नाफामा उल्लेख्य सुधार गरेको देखिन्छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्षको तुलनामा सिभिलले ३० करोड १२ लाख बढी नाफा कमाएको छ ।

यसैगरी लक्ष्मी बैंकले ८१ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस बैंकले ८० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको पुष मसान्तसम्ममा ७० करोड ८ ५ लाख रुपैयाँ खुद नाफा कमाएको एभरेस्ट बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ७१ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.