नेपालको मकै अर्जेन्टिनादेखि अमेरिकासम्म

नेपालमा परापूर्वकालदेखि मकै खेति हुँदै आएको छ । नेपालमा फागुन÷चैतलाई मकै रोप्ने महिनाको रुपमा लिने गरिन्छ । जेठ/असार महिनामा मकै टिप्ने/भाँच्ने गरिन्छ । नेपाल कृषि उर्बर जमिन भएको र त्यही संस्कारसँगै हुर्किएको देश भएपनि हामी प्रत्येक वर्ष अन्य देशबाट मकै भित्राउँदै आएका छौँ ।

नेपालमा यो आर्थिक वर्षमा २१ लाख मेट्रिक टन मकै उत्पादन भएको कृषि, भूमि तथा सहकारी मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष नेपालमा मकैको उत्पादन बढीरहेपनि ३ करोड जनताको लागि भने पर्याप्त हुन सकेको छैन । ३ करोड जनतालाई पर्याप्त हुनका लागि अझै ५ लाख मेट्रिक टन मकै उत्पादन हुन आवश्यक रहेको कार्कीले बताए ।

‘मकैको उत्पादन प्रत्येक वर्ष थोरै प्रतिशतले बढिरहेको छ, त्यसले गर्दा अर्बौंको मकै आयात भइरहेको छ । अब यो आयातलाई रोक्न अबको २ वर्षमा धानसँगै मकैमापनि आत्मनिर्भर हुनेमा हामी आशावादी छाँै,’ कार्कीले भने ।

नेपाली बजारमा भारत, अर्जेन्टिना, ब्राजिलबाट आयात भएका मकै पाइने गरेका छन् । नेपालमा भारतबाट यो आर्थिक वर्षको ११ महिनामा २३ करोड ५७ लाख रुपैयाँ बराबरको मकै आयात भएको छ । भारतबाट ११ लाख ३० हजार केजी बढी मकै नेपाल भित्रिने गरेको भन्सार विभागको बिवरणले देखाएको छ ।

यस्तै, अर्जेन्टिनाबाट यो आर्थिक वर्षमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको मकै आयात गरेका छाँै । अर्जेन्टिनाबाट ७ लाख १२ हजार केजी बढी मकै आयात हुने गरेको छ ।

ब्राजिलबाट नेपालले यो आर्थिक वर्ष २०७४÷०७५ सालको ११ महिनामा ६० लाख रुपैयाँ बढी मकै आयात गरेको छ । सो अवधिमा ब्राजिलबाट १ लाख केजी मकै आयात भएको छ ।

अन्य मुलुकहरुबाट भने १८ हजार रुपैयाँको मकै आयात भएको भन्सार विभागको विवरणले देखाएको छ ।

यस्तै, नेपालमा ठूलो दानावाला मकै अमेरिका, अर्जेन्टिना, ब्राजिल, चीन, भारतबाट आयात हुने गरेको छ ।

नेपालमा ठूला दाना भएका मकै भारतबाट सबैभन्दा धेरै आयात हुने गरेको भन्सार विभागको विवरणले देखाएको छ ।

यो आर्थिक वर्षको ११ महिनामा भारतबाट १० अर्ब १२ करोड रुपैयाँ बढीको ठूला दानावाला मकै भित्रिएको छ । नेपालले यो अवधिमा भारतबाट ४० करोड ९४ लाख केजी भन्दा बढी ठूला दाना भएको मकै आयात गरेको छ ।

दोस्रोमा अर्जेन्टिनाबाट ठूला दाना भएका मकै भित्रिने गरेको छ । अर्जेन्टिनाबाट नेपालले २९ करोड रुपैयाँ भन्दा बढी मूल्यको मकै आयात भएको छ । अर्जेन्टिनाबाट ४९ लाख ५७ हजार केजी भन्दा बढी ठूला दानावाला मकै आयात भएको छ ।

तेस्रोमा ब्राजिलबाट ठूला दानावाला मकै आयात हुने गरेका छन् । नेपालले ब्राजिलबाट २ करोड ३६ लाख रुपैयाँ बढीको ठूला दानावाला मकै आयात गरेको छ । ब्राजिलबाट ४ लाख २ हजार केजी बढी मकै आयात भएको छ ।

अमेरिकाबाट नेपालले २५ लाख २८ हजार रुपैयाँको ठूला दानावाला मकै आयात भएको छ । नेपालले यो आर्थिक वर्षको ११ महिनामा अमेरिकाबाट ४१ हजार ६ सय केजी मकै भित्राएको छ ।

यस्तै, चीनबाट भने सबैभन्दा कम मकै आयात हुने गरेको भन्सार विभागको विवरणले देखाएको छ । चीनबाट २ हजार रुपैयाँको १ केजी ठूला दानावाला मकैमात्र आयात गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.