नेप्से घट्यो, विश्लेषक भन्छन्, ‘यो सामान्य करेक्सन हो, आत्तिनुपर्दैन’

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको भारी करेक्सन आएको छ।

आज बजार ४५.२५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८२.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५८ अंकले घटेर ५००.४७ को विन्दुमा समेटिएको छ। हिजोको तुलनामा कारोबार पनि घटेर झन्डै १४ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार छोटो समयमै धेरै बढ्यो, आजको करेक्सनले बजारलाई थप मजबुत बनाउँछ’, उनले भने, ‘बुलिस बजारमा करेक्सन आउनैपर्छ, यो बजारको नियम नै हो।’

बजार बढ्दा मात्तिने र घट्दा आत्तिने गरेमा आफैँलाई घाटा हुने ढकालको भनाइ छ। ‘त्यसैले संयम भएर सेयर कारोबारमा लाग्न म सबैलाई आग्रह गर्छु’, उनले भने।

बजारलाई कारोबार रकमले साथ दिइरहेकोले डराइहाल्नुपर्ने अवस्था नरहेको ढकाल बताउँछन्। ‘बजार थप परिपक्व हुँदै गइरहेको छ’, उनले भने।

सरस्वती क्याम्पसका एमबीएम निर्देशन केपी पाण्डे पनि आज बजार घट्नुलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजारलाई कारोबार रकमले साथ दिएकै छ, धेरै बढेकोले आज सामान्य घटेको हो’, उनले भने, ‘सामान्य करेक्सनपछि बजार फेरि माथि नै जानेछ।’

अहिले बजारको महौलले लगानीकर्ताहरु सेक्टरवाइज लगानी गरिरहेको देखिने पनि पाण्डे बताउँछन्। ‘लगानीकर्तामा सेयर बजारप्रति विश्वास बढेको देखिन्छ’, उनले भने। 

बजार घट्ने अन्य कुनै पनि कारण नरहेको पाण्डेको भनाइ छ। ‘त्यसैले बजारमा सामान्य करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ। 

आज म्युचुअल फन्ड समूहमात्रै ०.०४ अंकले उकालो लागेको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३८०.८८ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ३५६.९० अंकले घटेको आज बैंकिङ समूहमा १९.१४ अंक, विकास बैंक समूहमा ५६.९७ अंक, वित्त समूहमा ८.८६ अंक, होटेल तथा पर्यटन समूहमा ०.८१ अंक, जलविद्युत समूहमा १२९.९३ अंक, लगानी समूहमा ०.९८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९४.१४ अंक, लघुवित्त समूहमा १०.०५ अंक, अन्य समूहमा ५१.६३ अंक र व्यापार समूहमा १६८.०९ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँमा करोबार भएका छन्। 

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज एचआईडीसीएलको ३२ करोड ७५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७१ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३० करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २७ करोड ५ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड ६७ लाख रुपैयाँ, अपी पावरको २४ करोड ७९ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २४ करोड ४२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

आज बरुण हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। 

यसैगरी नेपाल हाइड्रो र छ्याङ्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.