नेप्से प्रमुख भन्छन्, ‘ब्रोकर संख्या नथप्ने हो भने ब्रोकरलेस कारोबार सुरु गर्नुपर्छ’

काठमाण्डौ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले अहिलेको व्यवस्थामा परिवर्तन नल्याउने हो भने ब्रोकरलेस कारोबारको विकल्प नभएको बताएका छन्। बिजशालासँग कुराकानी गर्दै सीईओ साउदले अहिलेको अवस्थामा डिम्याट खाता खोल्नेको संख्या ३२ लाखभन्दा बढी भइसकेको र सक्रिय लगानीकर्ताको संख्यासमेत ह्वात्तै बढ्दा पनि ब्रोकरहरुको सेवा विस्तार नभएको भन्दै ब्रोकरलेस कारोबारको सान्दर्भिकता पुष्टि हुँदै गएको दाबी गरे। ‘अहिलेको ब्रोकरको संख्या नथप्ने हो र लगानीकर्ताहरुले ब्रोकरहरुबाट थप सुविधा नपाउने हो भने अब ब्रोकरलेस कारोबारका विषयमा सोच्नुपर्छ’, साउदले भने, ‘यसका लागि आवश्यक प्रक्रियाको सुरुआत र ऐन–नियम

संशोधनका विषयमा अध्ययन सुरु गरिनेछ।’ 

पछिल्लो समय नेप्सेका अधिकारीहरुबीच भारतमा सफल भइसकेको ब्रोकरलेस कारोबारका विषयमा आन्तरिक छलफल सुरु भएको अनौपचारिक कुरा आइरहेको बेला नेप्से प्रमुख साउदले यो विषयमा पहिलोपटक औपचारिक रुपमा मुख खोलेका हुन्। साउद विगतको समयदेखि नै नेपालमा ५० वटा ब्रोकरको संख्या कम भएको र यसलाई बढाएर १०० पुर्याउनुपर्छ भन्ने पक्षमा छन्। 

यो विषयमा नेप्सेले आधिकारिक रुपमा प्रतिवेदन नै तयारी नेपाल धितोपत्र बोर्डमा पेस गरेको महिनौँ हुँदा पनि ब्रोकर थप्ने विषयमा बोर्ड भने सकारात्मक छैन। बरु बोर्डले प्रादेशिकस्तरमा ब्रोकरहरु थप्ने भन्दै आवश्यक गृहकार्य थालिएको जनाएको छ। 

सीईओ साउदलाई बिजशालाले ब्रोकरलेस कारोबार नै किन चाहियो ? भनी प्रश्न गरेको थियो। जबाफमा साउदले भने, ‘यो व्यवस्था ल्याउन सकियो भने लगानीकर्ताको लागत अत्यन्त कम हुन्छ, उनीहरुले सहज ढंगले सेवा पाउनेछन्।’

तर, यो व्यवस्था कार्यान्वयनका लागि लगानीकर्ताहरुले पनि सहयोग गर्नुपर्ने र परेको खण्डमा लगानी गर्नसमेत तयार हुनुपर्नेमा साउदको जोड छ। पछिल्लो समय नेपाली बजारमा अनलाइन माध्यमबाट सेयर कारोबार गर्ने संख्या ठूलो छ। कारोबार प्रणाली पूर्ण रुपमा डिजिटाइज्ड हुँदा ब्रोकरहरुको व्यवस्थापन खर्च ह्वात्तै घटेको छ। तर, त्यसको तुलनामा लगानीकर्ताले कारोबार गर्दा तिर्नुपर्ने ब्रोकर कमिसन भने घटेको छैन। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.