१० अर्ब भ्रष्टाचारमा मुछिएका अधिकारीलाई बनाए मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को इतिहासमा सरकारले पहिलोपटक वरिष्ठता मिचेर कनिष्टलाई महानिर्देशकमा नियुक्त गरेको छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को इतिहासमा सरकारले पहिलोपटक वरिष्ठता मिचेर कनिष्टलाई महानिर्देशकमा नियुक्त गरेको छ । प्राधिकरणको १२ औं तहका ६ जना उपमहानिर्देशकहरुलाई पन्छाएर विवादित निर्देशक प्रदिप अधिकारीलाई संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले महानिर्देशक बनाएका हुन् ।

पटकपटक विवादमा परेका मन्त्री आलेले फेरि अर्का विवादित व्यक्तिलाई नियुक्त गरेका छन् । यदपी,अधिकारीको नियुक्तिको विषयमा आधिकारीक रुपमा सरकारले जानकारी गराएको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई महादिर्नेशकमा नियुक्त गरेको भनिए पनि मंगलबार मन्त्रिपरिषदका निर्णय सुनाउदा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा जानकारी दिएनन् ।

सोमबारको मन्त्रिपरिषदमा सहभागी सहरी विकासमन्त्री रामकुमारी झाँक्रिले महानिर्देशक नियुक्तिका लागि औपचारिक प्रस्ताव नआएको जानकारी दिइन् ।

‘औपचारिक रुपमा मन्त्रिपरिषदको बैंठकमा महानिर्देशक नियुक्तिको विषयमा कुनै प्रस्ताव आएको छैन’ मन्त्री झाँक्रिले भनिन्, ‘सायद मैले थाहा नपाउने गरी नियुक्त भएको निर्णय हुन सक्छ ।’ यता पर्यटन मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डे आफु केहि दिनदेखि विदामा रहेको र अधिकारीको नाम सिफारिस भएको हल्ला भने सुनेको बताए ।

अख्तियारदेखि सम्पत्ति शुद्धिकरणसम्म उजुरी

मन्त्री आलेले वरिष्ठता मिचेर महानिर्देशक बनाएका अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण विभागमासमेत उजुरी परेको छ ।

इन्जिनियर विभागमा कार्यरत अधिकारीले क्यानका तीनवटा राष्ट्रिय गौरवका आयोजनाहरु र सिभिल इन्जिनियरिङ्ग विभाग प्रमुख भएर रहँदा विभिन्न विमानस्थलमा अनियमितता गरेको भन्दै उनिविरुद्ध अख्तियार र सम्पति शुद्धिकरणमा उजुरी परेको हो ।

उनिमाथि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानुनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ ।

निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीभन्दा पहिले छुट्टाछुट्टै आयोजना प्रमुख रहने गर्थे । तर, शक्ति केन्द्रको आडमा उनी तीनवटै आयोजनाको एकीकृत संगठन बनाई आयोजना प्रमुख बनेका थिए ।

अधिकारीले जिम्मेबारी लिएका सबै आयोजना ढिलाई

महानिर्देशक अधिकारीले जिम्मेबारी लिएका अधिकाशं आयोजनाहरु ढिलाई भएको छ । भैरहवामा निर्माणको अन्तिम चरणमा भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटनको मिति धेरै पटक सार्वजनिक गरिसकेका छन ।

अधिकारीले ढाँटेर विमानस्थल आयोजनाको काम सम्पन्न हुने मिति सरकारको नीति तथा कार्यक्रममा घोषणा गर्न लगाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/०७७ नीति तथा कार्यक्रममा २०१९ भित्र गौतमबुद्ध विमानस्थल सम्पन्न गर्ने घोषणा गरेकी थिइन । तर, अहिलेसम्म सो आयोजनाको काम सकिएको छैन ।

यस्तै पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ढिलाई भइरहेको छ भने निजगढ विमानस्थलको कामनै अगाडी बढाउन सकेको छैन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.