फोहर फालेवापत १५ हजार जरिवाना

वीरगन्ज महानगरपालिकाले नगरपालिकाको सडकमा फोहर फाल्नेलाई दण्ड जरिवाना गर्न थालेको छ ।
महानगरपालिकालाई स्वच्छ सफा राख्न थालिएको अभियानालाई मूर्तरूप दिन यस अघिदेखि नै जनचेतना र सतर्क गराउँदै आए पनि महानगरबासीले महानगरपालिकाको अनुरोध र आग्रहलाई बेवास्ता गर्दै जथाभावी फोहर फाल्ने काम गर्दै आएका छन् । यसरी शौचालयको फोहरलगायत अन्य फोहर सडकमा फाल्नेलाई दण्ड जरिवाना गर्न थालेको हो । शौचालयको फोहर सडकमा फाल्नेलाई वीरगन्ज महानगरपालिकाले जरिवाना असुल गरेको छ । मंगलबारमात्रै वीरगन्ज महानगरपालिका–१३ का भरत साह केशरीले शौचालयको फोहर नालामा फालेको महानगरपालिकाको कर्मचारीले फेला पारेपछि १५ हजार रुपैंयाँ जरिवाना असुल गरेको छ । नगरक्षेत्रको फुटपाथ, नाला तथा सडकमा जथाभावी निर्माण सामग्री राख्ने, ठेला पसल राख्ने, नालाामा फोहर फाल्नेलाई जरिवाना लिन सुरु गरिएको सरसफाइ उपप्रमुख सर्फुदिन मियाँले बताए । वीरगन्ज महानगरपालिकाको बोर्ड बैठकले जरिवाना लिने अधिकार सरसफाइ शाखालाई दिएपछि मंगलबारदेखि सरसफाइ शाखाले कडाइ गर्न थालेको उनले बताए । नाला र सडकमा शौचालयको फोहर फाल्ने साहले सफा गर्ने कागज गरे पनि नउठाएकोले पहिलो पटकलाई १५ हजारमात्रै जरिवाना गरिएको उनले बताए । संघीय सरकारको सरसफाइ ऐन २०६८ र वीरगन्ज महानगरपालिकाको सरसफाइ ऐन २०७५ अनुसार वीरगन्ज महानगरपालिकाभित्र जथाभावी फोहर फ्याँक्ने र नाला तथा सडकमा फोहर फाल्नेलाई कडा कारबाही र जरिवाना गर्दै जाने महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए । महानगरलाई सफा राख्न नागरिकको पनि उत्तिकै दायित्व रहेकाले अहिले महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई अलगअलग छुट्याएर व्यवस्थापन गर्न थालेकाले नगरबासीले सोहीअनुसार सहयोग गर्न पनि उनले आग्रह गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.