बजार प्रवेश गर्दै ठूला लगानीकर्ता, २९ प्रतिशतले बढ्यो परिसुचक

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

केही समय अघि ओराले लाग्दै १२ सय अंकमा झरेको नेप्से परिसुचक आज त्यस यताको सबैभन्दा उच्च विन्दु १ हजार ५ सय ४६ अंक छोएको छ । आज बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुच १ हजार ५ सय ४६ अंक छोएर तल झरेको हो । आइतबार नेप्से परिसुचक ४४ दशमलव ७२ अंकले बढ्दै १ हजार ५ सय ३० दशमलव ७६ अंकमा पुगेर अडिएको छ ।

बजार तल्लो विन्दुमा आएयता आजसम्म आईपुग्दा झण्डै २९ प्रतिशतले बढेको छ । अघिल्लो हप्ताबाट बढ्न शुरु गरेको नेप्से परिसुचक दैनिक रुपमा उच्च अंकले उकालो लागेको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय कल एकाउण्टको ब्याजदर घटाएको र पर्ख र हेरको अवस्थामा बसेका ठूला लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेकाले दैनिक रुपमा ३ प्रतिशतभन्दा बढीले बजार उकालो लागेको हो ।

पछिल्लो समय बजारमा कारोवार पनि दैनिक रुपमा बढ्दै गएको छ । बजारमा बढ्ने आशमा ठूला लगानीकर्ताले केही महङ्गो मूल्य तिर्दै सेयर उठाउन थालेपछि कारोवार उच्च रुपमा बढ्न पुगेको हो । अघिल्लो हप्ताबाट दैनिक १ अर्ब रुपैयाँको कारोवार नाघेको सेयर बजारमा आज १ अर्ब ६५ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भयो ।

आइतबार पनि सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा अगाडी बीमा समुहको परिसुचक नै रहेको छ । बीमा समुह १ सय ९५ अंकले बढ्दा जलविद्युत समुह १ सय ५४ अंकले उकालो लाग्न पुगेको छ । बजारमा होटल समुहको परिसुचक पनि १ सय अंकले बढेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ४१ दशमलव ३८ अंकले उृकालो लागेको छ । यसैगरी विकास बैंक ५७ अंकले बढ्दा फाइनान्स समुहको परिसुचक २४ अंकले उकालो लागेको छ । दिनभर कुल १ सय ४३ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर खरिदविक्री हुन पुगेको छ ।

बजारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको कारोवार बढी भएको छ । प्रभु इन्स्योरेन्सको १९ करोड २८ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी दोस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ९ करोड ६८ लाख रुपैयाँ र नेशनल हाइड्रो पावरको ८ करोड ४४ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.