महँगी र विप्रेषण बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरको तुलनामा पुस महिनामा महँगी बढेको छ। तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ०.६० प्रतिशतले बढेर पुस महिनामा ३.५६ प्रतिशत पुगेको छ। मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशतमा सीमित थियो। अघिल्लो वर्षको पुस महिनामा भने यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ। २०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई रु. ६० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ। 

वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर रु.६६१ अर्ब २५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदीलगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटी रु.६०० अर्ब ४५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।

वार्षिक विन्दुगत आधारमा २०७७ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १.४ प्रतिशतले घटेको छ। २०७६ पुस महिनामा ०.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको छ।

विप्रेषण आप्रवाह

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई रु.४९५ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेकोछ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई रु.५४९ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।

शोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु.७ अर्ब ६६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब २० करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १२४ अर्ब ९२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.