महाकाली करिडोर निर्माण ढिलाइ

महाकाली करिडोरअन्तर्गत दार्चुला तिङकर सडक बन्न थालेको दशक बित्दासमेत दार्चुलावासीको गाडी चढेर आवतजावत गर्ने सपना अधुरै रह्यो ।

तिङकर सडक निर्माण सम्पन्न नभएका कारण दार्चुलावासी तुइनको यात्रा गर्न बाध्य छन् । ‘घरबाट हिँडेका साथीहरू बेलुकी फर्किन्छन् भन्ने कुनै निश्चित हँुदैन’, सुनसेरका शिक्षक पदमराज भट्टले भने । उनका अनुसार व्यास, राप्ला, सुनसेरा, धौलाकोटका मानिसले दैनिक यस्तै समस्या झेल्नुपरेको छ । निर्वाचनका बेला नेताहरूले गरेका वाचा भुलिसकेका छन् ।

दार्चुलाबाट निर्वाचित प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद गेल्बोसिंह बोहराले पनि दार्चुला–तिङकर सडकलाई छिटोभन्दा छिटो सुचारु गरी निर्माण कार्य अगाडि बढाउने आश्वासन दिएका थिए ।

पछिल्लो समय महाकाली लोकमार्गको समानान्तर दूरीमा करिडोर निर्माण थालिएपछि तिङकर सडकको चर्चा नै हराउन थालेको थियो । तर, केही दिनमै विस्फोटक पदार्थ जिलेटिन आउने आशाले खुसी भएको स्थानीय करवीरसिंह धामीले बताए ।

त्रिदेशीय सम्बन्ध जोड्ने दार्चुलाको तिङकर सडकको काम एक दशकमा आधा पनि सकिएको छैन । सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ । सवारी भने २० किलोमिटरमा मात्र गुड्छ । स्थानीयले खलंगादेखि दुहुँ गाउँपालिकाको पिपलचौरीसम्म मात्र गाडी चढ्ने अवसर पाएका छन् ।

पिपलौचारीको भासु भीरमा रहेको चट्टान भत्काउन नसकेका कारण सडक विस्तारले गति नलिएको तिङकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए ।

तिङकर सडकको योजना आर्थिक वर्ष ०६४÷६५ बाट सुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, यसलाई महाकाली करिडोरमा गाभेपछि ०७९ सालसम्मको लक्ष्य राखिएको हो । सडकको ट्र्याक खोल्न ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले समयमै काम सकेनन् । योजनाका ठेक्काहरूमा विस्फोटक पदार्थ नभएकै कारण कामले गति लिन नपाएको इन्जिनियर रैखोलाले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.