माथिल्लो तामाकोशीको ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, बिहीबारदेखि आम्दानी गर्न थाल्ने

काठमाण्डौ । राष्ट्रिय गौरवको हालसम्मकै ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ। योसँगै बिहीबारबाट आयोजनाले औपचारिक रुपमा विद्युत बिक्रीबाट आम्दानी गर्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशीबाट विद्युत खरिदबापतको भुक्तानी आउँदो बिहीबारबाट दिने भएको हो। सोही दिनदेखि माथिल्लो तामाकोशीको पनि औपचारिक रुपमा विद्युत बिक्रीबापत आम्दानी सुरु हुनेछ। 

माथिल्लो तामाकोशीको सम्पूर्ण काम हिजो आइतबारबाट सकिएको छ। हिजैबाट आयोजनाको ६ वटै युनिट सञ्चालनमा आएका छन्।

आयोजनाबाट अहिले पूर्ण क्षमतामा ४५६ मेगावाट बिजुली उत्पादन भइरहेको माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ। जसअनुसार एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन भइरहेको छ। 

कम्पनीका अनुसार आयोजनाले वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट विद्युत बेचेर ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ। 

हाल आयोजनाले विद्युत बिक्रीबाट आंशिक कमाइ गर्नेछ। भदौ २४ गतेबाट पूर्ण रुपमा आम्दानी हुने कम्पनीले जनाएको छ। 

उत्तरी दोलखामा रहेको यस आयोजनाको विद्युतगृह गोंगरदेखि खिम्ती सबस्टेसनमा जोडिएको छ। खिम्ती सबस्टेसन गोंगरबाट ४७ किलोमिटरको दूरीमा रहेको छ। त्यहाँबाट बिजुली २२० केभी प्रसारण लाइन हुँदै ढल्केबर र काठमाण्डौमा वितरण भइरहेको छ। 

माथिल्लो तामाकोशी आयोजनाको सिभिल वर्क चीनको सिनो हाइड्रो कर्पोरेसन र प्रसारण लाइनको काम भारतको केईसी इन्टरनेसनलले गरेका हुन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.