मेलम्चीको भाका फेरि फागुनमा

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भइ काठमाडौं उपत्यकावासीको धारामा पानी आउने मिति फेरि फागुनसम्मलाई सारेको छ । पटक पटकको म्याद गुज्रिँदै आए पनि आइतबार खानेपानीमन्त्री मणिचन्द्र थापासहितको टोलीले मेलम्चीको सुरुङ अवलोकनको क्रममा मन्त्रालयले फेरि भाका सारेर फागुन महिनामा नै मेलम्ची आउने बताएको हो । मन्त्री थापासहितको टोलीले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेको थियो ।
कहिले राजनीतिक द्वन्द्व, कहिले मेलम्चीको ठेकेदार कम्पनीहरूसँगको ठेक्का सम्झौता खारेजी त कहिले प्राविधिक कारणले मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न गर्न नसक्दा भाका सरेको स-यै छ । २२ वर्षअघि निर्माण सुरु भएको आयोजना ६ वर्षअघि सम्पन्न हुने लक्ष्य राखिएको थियो । गत जेठ १५ गतेको संघीय बजेट वक्तब्यमा पनि गत असार मसान्तभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने र साउनको सुरुवातमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिने प्रतिबद्धता जनाइएको थियो । मेलम्ची आयोजना सम्पन्नको अन्तिम तयारीमा हुँदा आयोजनाको गेटमा समस्या देखिएको थियो । गत असार ३० मा परीक्षणका क्रममा सुरुङको गेट फुस्किदा दुर्घटना भएको थियो । घटनाको बिषयमा अध्यायन गर्न बनेको प्राविधिक टालीले मेलम्ची खानेपानी आयोजनामा गम्भीर प्राविधिक त्रुटि भेटाएको थियो । मन्त्रालयले त्रुटी सच्याएर जान फागुनसम्म लाग्ने जनाउँदै आएको छ । अवलोकनपछि मन्त्री थापाले भने सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसके पनि परीक्षणअघि विज्ञ समूहलाई निरीक्षण गराइएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारको काम भएको बताए । .“सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाइ परीक्षणको काम सुरु गरिन्छ,” उनले भने ।
आयोजनाले प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिने बताएको छ । सुरुङको सुरक्षा तथा संचालनका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाह गरिने छ । आयोजनाका अनुसार सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.