यस्ता छन् सेयर बजारमा पछिल्लो १५ महिनामा भएका १६ उपलब्धि

काठमाण्डौ । पटक–पटक पुँजी बजारको विकास र विस्तारमा नियामक निकायहरुबाट खासै काम हुन नसकिरहेको आरोपहरु लाग्दै आएका छन्। पछिल्लो समय बजार उकालो लागे पनि लगानीकर्तामैत्री गतिविधि नियामकहरुबाट हुन नसकेको गुनासाहरु पनि उठ्ने गरेका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना भने पछिल्लो समय बोर्डबाट उल्लेख्य मात्रामा सुधारका काम भएको दाबी गर्छन्। अझै उनले आफू बोर्डको नेतृत्वमा आएपछि पुँजी बजारमा निकै सुधारात्मक गतिविधि भएका र बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताए। 

अध्यक्ष ढुंगानाकै भनाइमा उनी बोर्ड प्रवेश गरेको १५ महिना बजारले १६ वटा उपलब्ध हासिल गरेको छ। ‘म बोर्डमा आएको केही समयमै विश्व महामारी कोरोनाभाइरस संक्रमण देखिएकोले अझै राम्रोसँग काम गर्न पाइएन’, उनले भने, ‘कोरानाकै कारण चैत ११ गतेबाट बन्द भएको बजार वैशाखको अन्त्यतिरबाट खुल्यो। फेरि सरकारले लकडाउन गरेपछि बन्द भएको बजार असार १५ बाट खुल्यो र अहिले निरन्तर चलिरहेको छ।’ 

यस्ता छन् बजारमा देखिएका १६ उपलब्धि –

१. पछिल्लो समय नेपालको पुँजी बजार ऐतिहासिक छलाङ मार्ने क्रममा छ। बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रहन थालेको छ भने धितोपत्रको प्राथमिक तथा दोस्रो बजारका अधिकांश सूचकांकहरु ऐतिहासिक उचाइमा छन् ।

२. २०७७ असार महिनाको तुलनामा फागुनसम्म डिम्याट खाताको संख्यामा करिब ८० प्रतिशतले वृद्धि आई उक्त खाताको संख्या करिब ३१ लाख पुगेको छ ।

३. मेरो सेयर खोल्ने लगानीकर्ताको संख्या सोही समयावधिमा करिब १८३ प्रतिशले बढी करिब २१ लाख पुगेको छ । 

४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत आर्थिक वर्षको अन्त्यमा करिब ६ लाखले आवेदन दिने गरेकोमा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको अवस्था सिर्जना भएको छ। 

५. २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारभन्दा बढीले युजर आईडी लिएकोमा २०७७ फागुन मसान्तसम्ममा उक्त संख्यामा उल्लेखनीय वृद्धि भई करिब ४ लाख ७६ हजार पुगेको छ। 

६. सक्रिय लगानीकर्ताको संख्या करिब ६ लाख पुगेको छ । जुन २०७७ असारको तुलनामा करिब १४६ प्रतिशतले बढी हो।

७. धितोपत्र बजारमार्फत पूँजी परिचालनका लागि वित्तीय क्षेत्रबाहिरका हाइड्रोपावर, उत्पादनमूलक, व्यापारिक तथा केबल कारजस्ता कम्पनीहरू सक्रिय रहेका छन् भने अन्य केही कम्पनी बजारमा प्रवेश गर्ने क्रममा रहेका छन् ।

८. प्राथमिक बजारमा धितोपत्र निष्काशनमा उल्लेख्य वृद्धि भएको छ । चालु आवको प्रथम ८ महिना अर्थात फागुन मसान्तसम्म प्राथमिक बजारमार्फत कुल ४६ अर्ब ९७ करोड रुपैयाँबराबरको धितोपत्र निष्कासनका लागि बोर्डले अनुमति प्रदान गरेको छ । जुन गत वर्षभन्दा करिब ३९ प्रतिशतले बढी हो। 

९. २०७७ फागुन मसान्तसम्म साधारण सेयर निष्काशनतर्फ ११.५९ अर्ब रुपैयाँबराबरको निष्काशन अनुमति प्रदान गरेको छ। जुन विगत पाँच आर्थिक वर्षकै उच्च हो।

१०. यस्तै चालु आवको फागुन मसान्तसम्ममा बोर्डले २९.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन अनुमति दिएको छ। जुन २०७७ असारको तुलनामा २६ प्रतिशतले बढी हो। 

११. समीक्षा अवधिमा म्युचुअल फन्ड निष्कासनतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ । यसपटक ३ अर्ब ३० करोड रुपैयाँको मात्र योजनाले निष्कासन अनुमति लिएका छन्। जुन २०७७ असारको तुलनामा करिब ८५ प्रतिशतले बढी हो। 

१२. गत आवको अन्त्यमा १३६२ विन्दुमा रहेको नेप्से सूचकांक चालु आवको प्रथम ८ महिना अर्थात फागुन मसान्तमा करिब ८० प्रतिशतले वृद्धि भै २४५८ विन्दुमा पुगेको छ । २०७७ फागुन ९ मा नेप्से सूचकांक २६४० विन्दुमा पुगी हालसम्मकै उच्च बिन्दु कायम गरेको छ। 

१३. सोही दिन बजार पुँजीकरणसमेत ३६ खर्ब ३८ अर्ब रुपैयाँ कायम भई हालसम्मकै उच्च रेकर्ड राखेको छ । यस्तै कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अंशमा वृद्धि भई हाल करिब ८६ प्रतिशत रहेको छ।

१४. धितोपत्रको दोस्रो बजारको कारोबार रकमको आकारमा उल्लेख्य वृद्धि आएको छ। २०७७ माघ २६ मा १०.६२ अर्ब रुपैयाँको धितोपत्र कारोबार भएको छ। जुन हालसम्मकै उच्च रकम हो । पछिल्लो समय औसत दैनिक कारोबार रकम करिब ५ अर्ब रुपैयाँको हाराहारीमा रहने गरेको छ।

१५. कुल बजार पुँजीकरणमा कारोबार रकमको अनुपात क्रमशः वृद्धि हुँदै गई २०७७ फागुन मसान्तमा करिब ३१ प्रतिशत रहेको छ। यसले पछिल्लो समय धितोपत्रको तरलतामा बढ्दै गएको संकेत गरेको छ।

१६. पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेश गराउने लामो समयको प्रयासपश्चात बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई स्टक डिलरसम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.